काठमाडौं – संसदमा बङ्गलादेशको बारेमा भड्काउ भाषण गरेको भनेर सत्ताधारी दलहरुले आलोचना गरेपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विराटनगर पुगेर स्पष्टिकरण दिएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले दुईतिहाइ बहुमत छ भनेर सरकारले जे पायो त्यही नगरोस् भन्ने खबरदारी गरेको स्पष्ट पारे ।
‘बङ्गलादेशमा पनि दुईतिहाइको सरकार थियो, यो सरकारले पनि दुईतिहाइको आडमा जे पायो त्यही नगरोस् भनेको हो,’ उनले भने, ‘बङ्गलादेशको विषयलाई लिएर मैले उग्र बोलेको छैन ।’ प्रधानमन्त्री केपी शर्मा ओलीको ब्यवहार नै असभ्य भएको आरोप लगाउँदै उनले ओलीले लगाएको आरोपको प्रतिवाद गरे ।
प्रधानमन्त्री ओलीले प्रचण्डले असभ्य व्यवहार गरेको भन्दै लगाएको आरोपबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले व्यवहार हेर्न सुझाव दिए । ‘अहिलेको प्रधानमन्त्रीज्युले कति झुट, बेइमान, अनैतिक र जालझेल गर्ने हुनुहुन्छ भन्ने कुरा मैले प्रतिनिधिसभामै भनेको थिए,’ प्रचण्डले प्रश्न गरे, ‘अगाडिबाट मुसार्ने र पछाडिबाट छुरा हान्ने काम गर्ने ओलीले गरेको तथ्य कसरी असभ्य भयो र ?’
प्रतिक्रिया