काठमाडौं – तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा प्रत्येक शुक्रबार मात्र उडान भरिने भएको छ । गत हप्तादेखि प्रत्येक शुक्रबार मात्र उडान गरिएको निगमका दाङ प्रमुख बलबहादुर सुनारले बताएका छन् ।
निगमको एउटा जहाज ‘ग्राउन्डेड’ भएकाले शुक्रबारमात्र उडान भर्ने नीति लिएको उनले जानकारी दिए। “हप्तामा सात दिन चलाउने कुरा हो, तर अहिले निगमसँग एउटा मात्र जहाज छ, एउटा जहाज ग्राउन्डेड छ”, उनले भने, “त्यसले गर्दा पनि अहिले केही समय हप्ताको शुक्रबार मात्र चलाउने कुरा छ ।”
नेपाल वायुुसेवा निगम स्रोतले दिएको जानकारी अनुसार अहिले प्रत्येक शुक्रबार दिउँसो १२ः०० बजे टरिगाउँ आउने र १२ः२० मा फर्किछ । हाल दाङबाट काठमाडौँ जाँदा रु सात हजार एक सय भाडा लाग्छ भने काठमाडौँबाट दाङ आउँदा रु सात हजार दुई सय ५० भाडा लाग्ने बताइएको छ । अहिले दाङबाट काठमाडौँ जानका लागि यात्री नपाउने अवस्था रहेको छ । जहाज नियमित नहुँदा पनि यात्री भैरहवा वा नेपालगञ्ज जाने गरेको भन्दै नियमित भएमा यो समस्या नहुँने निगमको भनाइ छ ।
उक्त विमानस्थल २०११ सालमा स्थापना भएको हो । सात सय ५० मिटर लम्बाइ रहेको धावनमार्ग हुँदा अहिले १९ सिटे जहाज मात्र बस्ने गरेका छन् । यसलाई बढाएर एक हजार पाँच सय मिटर बनाउन सकिएमा ७२ सिट जहाज बस्ने र सेवा नियमित हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया