डेङ्गी बिरुद्ध  ‘खोज र नष्ट गर’ अभियान

मंगलबार, २५ भदौ २०८१, ०९ : ५७

काठमाडौं –अहिले डेङ्गी सङ्क्रमण देशभरि नै तीब्र भएको छ । यस रोगबाट बच्न चिकित्सकहरुले सावधानी अपनाउन अपिल गरिरहेका छन् । त्यस्तै  उक्त रोगको सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन् । सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गीबाट बच्ने उत्तम उपाय भएको उनीहरुको भनाइ छ ।

धौलागिरि उपप्रादेशिक अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेङ्गी सङ्क्रमण हुँदैमा आत्तिहाल्नु नपर्ने बताए । डेङ्गी सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकानजस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने उनको भनाइ छ । डेङ्गी भएमा आराम गर्ने, पानीलगायत झोलिलो प्रशस्त पदार्थ पिउने र जथाभावी औषधि सेवन गर्न नहुने प्रमुख चिकित्सक प्रधानले बताए ।

गर्भवती र बालबालिकामा डेङ्गीको सङ्क्रमण भएमा स्वास्थ्यमा जटिलता निम्तनसक्ने उनको भनाइ छ । ‘अधिकांश सङ्क्रमित सामान्य उपचारपछि निको हुन्छन्, कतिपयमा डेङ्गीले जटिलता ल्याउन सक्छ, सामान्य रोग हो भन्ने सोचेर लापरबाही गरेमा ज्यानै जोखिममा पर्न सक्छ’, उनले भने ।

डेङ्गी सार्ने ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न दिन नहुने उनको भनाइ छ । डेङ्गीको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, टायर, भाँडाकुँडा, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गनुपर्ने प्रमुख चिकित्सक प्रधानले बताए ।

‘डेङ्गीलाई सामान्य रुपले नसोचौँ, यसका अप्रिय उदाहरण हामीसँग छन्’, उनले भने, ‘डेङ्गी भइसकेपछि अचाक्ली पीडा हुन्छ, उपचार र हेरचाह पुगेन भने स्वास्थ्य अवस्था जटिल बन्दै गएर बिरामीको मृत्युसमेत हुनसक्छ  ।

सङ्क्रमण बढ्दै जान थालेपछि स्वास्थ्य मन्त्रालय, मातहतका स्वास्थ्य कार्यालय, स्थानीय तहलगायत निकायले लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान सञ्चालन गरिरहेका छन् । डेङ्गी फैलाउने उक्त लामखुट्टेको जीवनचक्र खल्बल्याउन ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको हो । कास्कीको पोखरा महानगरपालिकासहित यहाँका स्थानीय तह समुदायमा सरसफाइ सचेतनासहित डेङ्गी रोकथाममा जुटेका हुन् ।

मंगलबार, २५ भदौ २०८१, ०९ : ५७

प्रतिक्रिया