सुशासनमा पत्रकारको साथ अपेक्षा

बुधबार, २६ भदौ २०८१, १० : ४९

काठमाडौं –  सरकारको सुशासनको प्रयासलाई सफल लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पत्रकारहरुको साथ आवश्यक रहेको बताएका छन् ।

 घोराहीमा नेपाल पत्रकार महासंघ दाङ शाखाले प्रकाशन गरेको मिडिया मन्थन नामक पुस्तकको मंगलबार घोराहीमा विमोचन गर्दै मुख्यमन्त्री आचार्यले सो कुरा बताएका हुन । सुशासनका लागि तथ्यसहितको खबरदारी आवश्यक रहेको बताउँदै उनले भने, ‘नेपालका परिवर्तनकारी आन्दोलनमा पत्रकारहरुको भूमिका महत्वपूर्ण छ । दलमाथि प्रतिबन्ध लगाएको अवस्थामा पनि पत्रकारहरुले जनताको आवाज बोल्ने काम गर्नुभयो’– मुख्यमन्त्री आचार्यले भने– ‘यो उपलव्धिलाई बचाई राख्न र सुशासनलाई प्रभावकारी बनाउन फेरि पनि पत्रकारको भूमिका आवश्यक छ । मैले पत्रकारहरुबाट ठूलो आशा गरेको छु ।’

आफूले मुख्यमन्त्रीको शपथ लिइसकेपछि सुशासनको लागि प्रयास थालेको भन्दै आचार्यले हेर्दा सानो तर सुशासनका लागि ठूलो सहयोग मिल्ने उनको भनाइ थियो । ‘म आउँदा बित्तिकै पदमा बस्नेहरुलाई खादा माला लगाइदिने संस्कृति हटायौं । भिआइपीका लागि अनावश्यक स्कटिङ हटायौं, मुख्यमन्त्री र मन्त्रीहरुका लागि आचारसंहिता तयार पारेर लागु ग¥यौं’– मुख्यमन्त्री आचार्यले भने– ‘पद छाडेर जाँदा पनि पूर्वभिआइपीहरुले लिने सेवा सुविधा पनि बन्द गर्ने निर्णय गरेका छौं । हेर्दा सामान्य लाग्छ तर यस्ता निर्णयले प्रदेशको विकासमा कहीं न कहीं टेवा पु¥याउने मेरो विश्वास छ । सरकारका यस्ता प्रयासमा पत्रकारहरुको साथ सहयोगको खाँचो छ ।’

उनले जनतामा वढ्दो नैराश्यता हटाउन सुशासनलाई सबै मिलेर प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । एक करोडसम्मका योजना पनि उपभोक्तामार्फत गर्दा ठेकेदारले काम गर्ने तर अलपत्र पारेर न उपभोक्ताले जिम्मा लिने न ठेकेदारले नै लिने समस्या आएपछि अहिले पाँच लाखभन्दा माथिका योजनामा प्रतिस्पर्धा गराएर काम गर्ने व्यवस्था मिलाएको आचार्यले बताउनुभयो । सरकारले नियतवश गलत गर्दैन, कमीकमजोरी भए औंल्याइदिन पत्रकारहरुलाई आग्रह गर्दै तथ्यमा आधारित भएर त्यस्ता विषय पनि उठाइदिन आग्रह गर्नुभयो । ‘कमी कमजोरी आंैल्याएर सरकारलाई खबरदारी गर्नुस्’– आचार्यले भन्नुभयो– ‘सरकार र पत्रकार मिलेर जनतामा केही हुँदैछ भन्ने आशा जगाऔं ।’

सो अवसरमा बोल्दै लुम्बिनीका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड बिक्रम न्यौपानेले लुम्बिनी प्रदेश सरकारले प्रदेशको औचित्य सावित गर्ने गरी काम गर्न थालेको बताए । सो अवसरमा बोल्दै प्रेस स्वतन्त्रता सेनानी टीकाराम रेग्मीले पत्रकारिताको विकासका लागि सबै पत्रकारहरु मिलेर अघि बढ्नुपर्ने सुझाव दिए । महासंघका पूर्वअध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमले सामाजिक संस्थालाई स्वायत्त बनाउन जरुरी रहेको भन्दै दल विशेषको अखडा बनाउन नहुने बताए ।

नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा विकास लामिछाने, नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधव अधिकारी, लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुन, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसी, नेपाली कांग्रेस दाङका कोषाध्यक्ष प्रकाश सुवेदी, नेकपा एमालेका उपाध्यक्ष मनोहर बुढाथोकी, माओवादी केन्द्रका सचिव विश्वराज आचार्य, तुलसीपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष देवबहादुर केसी, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष डा. टीकाराम उदासीले शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा मिडिया महोत्सवमा सहयोग पु¥याउने सहयोगी संस्थाहरुलाई सम्मान गरिएको थियो ।
 

बुधबार, २६ भदौ २०८१, १० : ४९

प्रतिक्रिया