सहुलियत पसलमा १० रुपैयाँसम्म छुट दिइने

विहीबार, २७ भदौ २०८१, ०९ : २२

काठमाडौं – सरकारले दशैँ, तिहार र छठलाई लक्षित गरी आगामी असोज ७ गतेदेखि सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनिसकेको छ । आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४२ जिल्लाका ६१ ठाउँमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ ।

यसरी सञ्चालित सहुलियत मूल्य पसलमा सबै किसिमको चामलमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिने बताइएको छ । कर्णालीका रैथाने उत्पादनहरु जुम्ली मार्सी चामल, कागुनो, चिनो, कर्णालीको सिमी, उवा र तितेफापरमा प्रतिकिलो सात रुपैयाँ छुट पाइने छ । सबै प्रकारका दाल तथा गेडागुडीमा प्रतिकिलो पाँच तथा गहुँको पिठो, चिउरा, चिनी, गहुँलगायतमा प्रतिकिलो सात रुपैयाँ छुट पाइने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । कम्पनीका अनुसार सनफ्लावर, भटमास तथा तोरीको तेलमा प्रतिलिटर सात र डीडीसी घ्यूमा प्रतिलिटर १० रुपैयाँ छुट पाइनेछ । यस्तै च्याङ्ग्रा, खसी, बोकाको मासुमा प्रतिकिलो १० रुपैयाँ छुट दिने तयारी छ ।

विहीबार, २७ भदौ २०८१, ०९ : २२

प्रतिक्रिया