काठमाडौँ – सुदूरपश्चिमाञ्चल सरोकार मञ्च, नेपालले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बुधवार एक ज्ञापन पत्र बुझाएको छ । उक्त अवसरमा बोल्दै मन्त्री राणाले मुलुकको सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू सधैँ लागिपर्ने बताएकी छिन् ।
सुदूरपश्चिमाञ्चल सरोकार मञ्च, नेपालका पदाधिकारी एवं सदस्य सम्मिलित प्रतिनिधिमण्डलसँग उनले बुधबार यहाँ आफूले विगत लामो समयदेखि सो क्षेत्रका नागरिकको स्वास्थ्य, महिला अधिकार, प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्वलगायतका क्षेत्रमा काम गर्दै आएको स्मरण गर्दै आफू कुनै सरकारी पदमा हुँदा या नहुँदा पनि यो क्षेत्रको विकास गरी त्यहाँका नागरिकको जीवनस्तरमा सुधार ल्याउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
परराष्ट्रमन्त्री डा. राणाले सुदूरपश्चिम क्षेत्रको विकासका पक्षमा त्यहाँका केही स्थानीय परियोजना तथा नाकाका विषयमा भारत भ्रमणका क्रममा भारतीय उच्च सरकारी तहसम्म कुरा उठाएकामा सो प्रतिनिधिमण्डलले विशेष धन्यवाद ज्ञापन गरेको थियो ।
प्रतिनिधिमण्डदका सदस्यहरुले गौरीफन्टा तथा गड्डाचौकी नाकाबाट आहोरदोहोर गर्नेक्रममा नेपालीलाई भारततर्फबाट धरपकड हुने गरेको गुनासो गर्दै त्यहाँ सुरक्षा र थप व्यवस्थापनका लागि आग्रह गरेका थिए ।
सो अवसरमा नेपालले आफ्ना छिमेकी देशतर्फका सिमानाका एवम् सीमा सुरक्षा चौकीहरुलाई थप व्यवस्थित बनाउने विषयमा आफूले पहल गर्ने मन्त्री डा. राणाले बताइन् । त्यस अवसरमा सो सरोकार मञ्चले मन्त्री डा. राणालाई सम्मान प्रदान गरेको थियो । मञ्चका अध्यक्ष बहादुरसिंह विष्टसहित पदाधिकारी तथा सदस्यहरुहरुले देशको सुदूरपश्चिम जस्तो विकट क्षेत्रबाट प्रतिनिधित्व गरी मुलुकको परराष्ट्रमन्त्री जस्तो गरिमामय पदमा पुगेकामा उनको सफल कार्यकालको कामना गदै सम्मान प्रदान गरेका थिए ।
प्रतिक्रिया