एमालेले पेलेपछि प्रचण्ड र बाबुरामको एउटै स्वर

शुक्रबार, २८ भदौ २०८१, ०९ : २९

काठमाडौं – जनयुद्धका घटनाक्रममा आधारित टेलिफिल्म ‘राधाकृष्ण’को प्रिमियर शो हेरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एउटै मञ्चबाट सम्बोधन गर्दै  जनयुद्धलाई विद्रुपीकरण गर्ने प्रयास भइरहेको बताएका छन्।

कतिपय शक्तिहरुले लाखौं जनताको सहभागीता भएको जनयुद्धलाई विद्रुपीकरण गर्ने र यसको नेतृत्वकर्ता माओवादीको भूमिकालाई न्यूनीकरण गर्ने गरी बहस गर्ने गरेको उल्लेख गर्दै प्रचण्डले जनताको बलिदान र वीरतामा आधारित जनयुद्धको मर्म इतिहासमा स्थापित भइसकेको बताए।
उक्त अवसरमा आफ्नो धारणा राख्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘कतिपयले माओवादीलाई हामीले मूलधारमा ल्यायौं भनेको पनि सुन्छु’, उनले प्रश्न गरे, ‘हामी मूलधारमा आयौं कि हामीले मूलधार सिर्जना गर्‍यौंरु हामी संवैधानिक राजतन्त्रको मूलधारमा गएका होइनौं। अन्य दलहरु हामीले स्थापित गरेको गणतान्त्रिक मूलधारमा आएकाले माओवादीलाई मूलधारमा ल्याएको भन्ने तर्क सही होइन।’

त्यस्तै नेसपाका अध्यक्ष डा.भट्टराईले जनयुद्धकै कारण आज संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको चर्चा गर्दै त्यसक्रममा भएका कतिपय घटनालाई लिएर मूल पक्षलाई ओझेलमा पार्ने प्रयास गर्नु इतिहासप्रतिको सही मूल्यांकन नहुने बताए।

शुक्रबार, २८ भदौ २०८१, ०९ : २९

प्रतिक्रिया