अब पुरानो नेतृत्वबाट हुँदैन : महरा

शुक्रबार, २८ भदौ २०८१, १० : ४६

काठमाडौं – पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष  कृष्णबहादुर महराले विद्यार्थीहरुमा वैदेशिक हस्तक्षेप रोक्न सक्ने उर्जा भएको बताएका छन् ।
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनको बिहीबार घोराहीमा उद्घाटन गर्दै महराले राष्ट्रियतामाथिको सबैखाले हस्तक्षेपलाई चिर्ने ल्याकत विद्यार्थीमा हुने बताएका हुन् । ‘विद्यार्थी भविष्यका ऊर्जा हुन् । राजनीतिक तरलता र वैदेशिक हस्तक्षेप भइरहेको यो अवस्थामा त्यसलाई चिर्ने शक्ति विद्यार्थी युवाहरुले नै हो । तपाईंहरु नै हो’– प्रमुख अतिथि महराले भने ।

पूर्वसभामुख महराले अहिलेको राजनीति आशा र निराशाको बीचमा चलिरहेको भन्दै राष्ट्रियतामाथिको हस्तक्षेप हुँदा पनि दलका नेतृत्वहरु टुलुटुलु हेरेर बसिरहेको बताए । ‘राजनीतिक तरलताको अवस्था छ । राष्ट्रियतामाथिको हस्तक्षेप पनि बढिरहेको छ तर हामीहरु टुलुटुलु हेरेर बसिरहेका छौं’– पूर्वसभामुख महराले भने– ‘हस्तक्षेप चिर्ने ऊर्जा विद्यार्थीमा छ । मेरो अपेक्षा पनि त्यही हो । यो काम अब पुराना नेतृत्वबाट हुँदैन । तपाईं युवा विद्यार्थीलेमात्रै सक्नुहुन्छ भन्ने मेरो विश्वास छ ।’ उनले बदलिदो परिस्थितिअनुसार युगद्रष्टा भएर अघि बढ्न र नयाँ–नयाँ सिर्जनामा लाग्न विद्यार्थीहरुलाई आग्रह गरे ।

सो अवसरमा बोल्दै माओवादी केन्द्रका सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाल (बलदेव), स्थायी कमिटी सदस्य कुलबहादुर केसी, प्रदेश अध्यक्ष सुदर्शन बराल, अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंहलगायतले विद्यार्थीहरुलाई शैक्षिक र राजनीतिक आन्दोलनलाई सही दिशाका लागि भूमिका खेल्न आग्रह गरेका थिए । अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशका उपाध्यक्ष भीमराज खरेलको अध्यक्षतामा भएको सम्मेलन आजसम्म चल्नेछ । दुई दिन चल्ने सम्मेलनले प्रदेशको नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्व चुन्न लुम्बिनी प्रदेशका १२ जिल्लाका तीन सय ९१ प्रतिनिधि घोराही पुगेका छन् ।

शुक्रबार, २८ भदौ २०८१, १० : ४६

प्रतिक्रिया