मोबाइल व्यवसायीले गरेको सामसुङविरुद्ध आन्दोलन स्थगित

शनिबार, २९ भदौ २०८१, १६ : ४४

काठमाडौँ - नेपाल मोबाइल व्यवसायी महासंघले सामसुङ ब्राण्डका मोबाइलको भिजिबिलिटी बन्द गर्ने गरी घोषणा गरेको आन्दोलनका कार्यक्रम स्थगित गरेको छ।

महासंघ, मोबाइल फोन इम्पोर्टर एसोसियसन र नेपाल मोबाइल वितरक संघकाबीच शुक्रबार भएको त्रिपक्षीय सहमतिपछि महासंघले सामसुङ मोबाइल ब्राण्डविरुद्ध घोषणा गरेको आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको हो ।

महासंघले उठाएको मार्जिन बढाउनुपर्ने विषयलाई मोबाइल फोन इम्पोर्टर एसोसियसन र नेपाल मोबाइल वितरक संघले समेत समर्थन गर्दै मार्जिन लगायतका विषयमा आगामी १३ मंसिरमा ठोस निर्णय लिने सहमति भएको हो ।

सहमतिमा नेपाल मोबाइल ब्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई, मोबाइल फोन इम्पोर्टर एसोसिएसनका अध्यक्ष दीपक मल्होत्रा र नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्यादोले हस्ताक्षर गरेका छन् । 

सुदूरपश्चिम प्रदेशको धनगढीमा गत २० भाद्रमा आयोजित सामसुङ रिटेल मिट कार्यक्रममा आयोजक र व्यवसायी पक्षबिच मार्जिनको विषयमा विवाद हुँदा महासंघ केन्द्रले संघर्षका कार्यक्रम घोषणा गरेको थियो । जसअनुसार भाद्र २६ र २७ गते सामसुङ मोबाइलको भिजिबिलिटी बन्द गरिएको थियो ।

विज्ञप्तिमा महासंघले उठाएको मार्जिनको विषय तीनै निकायको आवश्यकताको विषय भएको भनिएको छ भने सो विषयमा आआफ्ना संस्थाका तर्फबाट आवश्यक तयारी गरी १३ मङ्सिर २०८१ अर्थात् आगामी २८ नोभेम्बरका दिन ठोस निर्णयमा पुग्ने गरि साझा सहमति बनेको उल्लेख छ ।

शनिबार, २९ भदौ २०८१, १६ : ४४

प्रतिक्रिया