काठमाडौँ - २०८४ मा पहिलो दल बन्ने दाबी गरिरहेको माओवादी केन्द्रले सहकारी ठगी र सुन तस्करीको अभियोग लागेका दीपेशकुमार पुनलाई पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्ष बनाउने तयारी गरेको बुझिएको छ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश हाल अखिलका महासचिव छन् ।
यस्तो गम्भीर आरोपमा मुद्धा चलिरहेको व्यक्तिलाई अध्यक्ष बनाउन नहुने अडान संस्थापन इतर पक्षले लिएको छ ।
यही असोज १० देखि १४ गतेसम्म काठमाडौंमा हुने अखिलको राष्ट्रिय सम्मेलनबाट उनलाई अध्यक्ष बनाउने तयारी गरिएको हो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने सम्मेलनमा २ हजार ३ सय २३ प्रतिनिधि सहभागी हुँदै छन् । अखिलका प्रवक्ता जीपी मैनालीले हालसम्म प्रदेश र जिल्लाबाट ९५ प्रतिशत प्रतिनिधि चयन भइसकेको बताए । सम्मेलन नजिकिँदै गर्दा नेतृत्वमाथि दाबी गर्ने क्रम पनि सुरु भएको छ ।
अध्यक्षको आकांक्षीमा नरेश रेग्मी, अच्युत भट्ट, मदन भुल, केशव रावल, दीपेश पुन, जीपी मैनाली, इन्द्र भुसाल, पवन कार्की, नारायण खनाल, प्रविणा अधिकारी र क्षितिज सापकोटा छन् । महासचिव पदका लागि सुधीन पौडल, हेमन्त राई, सुधीर रेग्मी र तृष्णा हमाललगायत छन् । संस्थापन पक्षले पुनलाई अध्यक्षमा अघि सारेको छ । जबकि सम्मेलनको नाराचाहिँ ‘भ्रष्टाचारको अन्त्य र सुशासन सुनिश्चितताका निम्ति हाम्रो आन्दोलन । रोजगार, उत्पादन र समाजवादी शिक्षाका लागि २३औं राष्ट्रिय सम्मेलन’ राखिएको छ ।
दीपेश प्रहरीको विभिन्न समयको अनुसन्धान अनुसार शक्तिको प्रयोग गरी सहकारी ठगी र सुन तस्करीमा संलग्न देखिएका थिए । पोखरास्थित सूर्यदर्शन सहकारी र रूपन्देहीको सुप्रिम सहकारीबाट दीपेशका नाममा ऋण प्रवाह भएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले देखाएको छ । गोर्खा मिडिया नेटवर्कसँग औपचारिक सम्बन्ध नै नभएका पुनलाई कम्पनीले २ करोड ३४ लाख ऋण तथा पेस्की दिएको छ । के प्रयोजनका लागि कुन मितिमा पुनलाई रकम दिइएको थियो भन्नेबारे प्रतिवेदनमा खुलाइएको छैन । पुनले सूर्यदर्शन सहकारीबाट पनि ५० लाख ऋण लिएर नतिरेको प्रतिवेदनमा उल्लेख छ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परी उनी धरौटीमा रिहा भएका थिए । गत वैशाखमा रूपन्देही जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले दीपेशलाई ४ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । उक्त सहकारीमा जीबी राई र दीपेशसहितको समूहले सर्वसाधारणको १ अर्ब ३१ करोड बचत रकममध्ये ८६ करोड १८ लाख अपचलन गरेको प्रतिवेदन रूपन्देही प्रहरीले सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।
सुन तस्करीमा संलग्न भएको आरोपमा उनी २०८० चैत २ मा काठमाडौंको धापासीबाट पक्राउ परेका थिए । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित आयोगले दीपेशलाई अनुसन्धानको दायरामा ल्याउन राय दिएको थियो । २०८० साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार जाँच पार भएर सिनामंगल पुगेको सवारीसाधनबाट बरामद करिब ६१ केजी सुन तस्करी प्रकरणमा दीपेश चिनियाँ तस्करसँग सम्पर्कमा रहेको देखिएपछि अनुसन्धानको दायरामा ल्याइएको थियो । पछि उनी रिहा भए ।
माओवादीभित्र बाबुको शक्ति प्रयोग गरेर विभिन्न काण्डमा संलग्नमध्ये दीपेश चर्चित पात्र हुन । उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि मुछिएका थिए । शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तद्वय इन्द्रजित राई र सन्दीप रायमाझीले प्रहरीको अनुसन्धानका क्रममा दीपेशको पनि नाम लिएका थिए । बाबु उपराष्ट्रपति हुँदा त्यसको आडमा सत्ता र शक्तिको दुरुपयोग गरी विभिन्न प्रकरणमा संलग्न भएको आरोप दीपेशमाथि छ ।
।
प्रतिक्रिया