काठमाडौं – लुम्बिनी प्रदेशको राप्ती गाउँपालिकामा पहिलो पटक मिनि चिस्यान केन्द्र स्थापना भएको छ ।
चिस्यान केन्द्र स्थापना भएपछि त्यस क्षेत्रका किसानहरुलाई लाभ पुग्ने बताइएको छ । उक्त चिस्यान केन्द्र नर्ती वन वातावरण बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडको स्वामित्वमा रहने गरी राप्ती गाउँपालिकाको ६ लाख ६६ हजार र संस्थाको २ लाख २२ हजार गरी कुल आठ लाख ८८ हजार रुपैयाँको लागतमा स्थापना गरिएको हो । राप्ती गाउँपालिका वडा नम्बर ८ नयाँबजारमा स्थापना गरिएको केन्द्रको मंगलबार लुम्बिनी प्रदेश सांसद इन्द्रजीत थारुले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै सांसद थारुले चिस्यान केन्द्र स्थापना हुनु यस क्षेत्रका किसानहरुको लागि महत्वपूर्ण उपलब्धि भएको बताए । अहिलेको युगमा कृषि क्षेत्रको आधुनिकीकरण अपरिहार्य रहेको बताउँदै थारूले यस किसिमका संरचनाहरूले कृषकहरूको उत्पादन क्षमतामा बृद्धि गर्न र उनीहरूको आर्थिक अवस्थालाई सबल बनाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनले सरकार कृषकहरूको हितका लागि सधैं तत्पर रहेको र यस्ता परियोजनाहरूको माध्यमबाट कृषकहरूको जीवनस्तर उकास्न प्रयासरत रहेको बताए ।
सो कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले चिस्यान केन्द्रको स्थापनाले स्थानीय कृषकहरूको उत्पादनलाई दीर्घकालसम्म सुरक्षित राख्न मद्दत गर्ने र त्यसबाट उनीहरूले आफ्नो उपजको उचित मूल्य प्राप्त गर्न सक्ने बताए । चिस्यान केन्द्र स्थापना भएसँगै यस क्षेत्रका कृषकहरूले भोग्नुपरेका समस्याहरुबाट मुक्त हुने अध्यक्ष विष्टको भनाइ थियो ।
चार टन भण्डारण क्षमता भएको चिस्यान केन्द्रमा कृषकहरूले उत्पादन गरेका तरकारी, फलफूल लगायतका बस्तुहरु भण्डारण गरिने संस्थाका सचिव हरिप्रसाद भुसालले जानकारी दिए । गाउँपालिकाको कृषि शाखासँग समन्वय गरी न्यून भण्डारण शुल्क निर्धारण गरिने संस्थाका सचिव भुसालले बताए ।
प्रतिक्रिया