जब निर्माण व्यवसायी नै हातपातमा उत्रिए

बुधबार, ०९ असोज २०८१, ०९ : २७

काठमाडौं – भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीले लुम्बिनी विकास कोषका पदाधिकारीमाथि हातपात गरेका छन् । 
राष्ट्रिय गौरवको आयोजना बुद्ध जन्मस्थल लुम्बिनीमा सकिएको कामको रकम भुक्तानी नपाएको भन्दै उनीहरु हातपातमा उत्रिएका हुन ।  

निर्माण व्यवसायीहरूको एक हुलले कोषाध्यक्ष ढुण्डिराज भट्टराई र सदस्य सचिव सानुराजा शाक्यमाथि एक कार्यक्रममै आक्रमण गरेको हो । गुण्डागर्दी शैलीमा कोषाध्यक्ष र सदस्य सचिवमाथि आक्रमण भएको लुम्बिनी विकास कोषले जनाएको छ । करिब २० जनाको समूहले एकाएक कार्यक्रमस्थलमै आएर कुटपिट गरेको कोषाध्यक्ष भट्टराईले बताए । कुटपिटबाट सदस्य सचिव शाक्यको मुखमा चोट लागेको छ । केही दिनदेखि गुरूयोजनाको कामको भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीले असन्तुष्टि जनाइरहेका थिए । माग सम्बोधन गरी समाधान गर्न लागिरहेको बेला हुलहुज्जतसहित अपमानजनक रूपमा आक्रमण गरिएको कोषाध्यक्ष भट्टराईले गुनासो गरे । 

कोषाध्यक्ष भट्टराईले आफ्नो ज्यान नै जोखिममा परेको भन्दै सुरक्षाको प्रत्याभूति नहुँदासम्म कुनै चेकमा हस्ताक्षर नगर्ने बताएका छन् । ठेकेदार कम्पनीहरूलाई भुक्तानी गर्ने रकम सरकारबाट निकासा नआउँदा भुक्तानीमा ढिलाइ भइरहेकोमा सोमवारमात्र कोषको खातामा रकम जम्मा भएको थियो । भुक्तानीको प्रक्रिया शुरू गर्न मंगलबार अपरान्ह उपाध्यक्ष ल्हारक्याल लामासहितको बैठक डाकिएको थियो । धर्नामा रहेका निर्माण व्यवसायीलाई सो सम्बन्धी जानकारी गराएर आफू कार्यक्रममा आएको भट्टराईले बताए । विकास कोषका लागि सरकारले राष्ट्रिय गौरवको आयोजना छुट्याएको ४९ करोड बजेटको काम भएकोमा ४४ करोड केही दिनअघि अर्थमन्त्रालयबाट निकासा भएर आएको र त्यसकै प्रक्रियाका लागि मंगलवार बैठक बसेका समयमा आक्रमण भएको हो ।

।

बुधबार, ०९ असोज २०८१, ०९ : २७

प्रतिक्रिया