अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

बुधबार, ०९ असोज २०८१, १२ : ३४

काठमाडौँ - उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको राजधानीमा बेइजिङमा भेटवार्ता भएको छ ।

सो अवसरमा दुई देशका आफसी हित र सहयोगबारे छलफल भएको हो । भेटका क्रममा चीनका उपप्रधामन्त्री ही लिफेङले चीन सरकारको तर्फबाट विगतमा गरिएका घोषणा एवं सहमति बमोजिम सहयोगका परियोजनाहरुको कार्यान्वयनलाई तीव्रता दिने बताएका छन् । 

उनले आगामी दिनमा नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले केरुङ-काठमाडौं रेल निर्माण, टोखा-छहरे सुरुङ मार्ग, किमाथाङ्का-हिले, हिल्सा-सुर्खेत-भुरीगाउँ सडक, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, दमक औद्योगिक पार्क लगायतका पूर्वाधार निर्माणलाई अघि बढाउन अनुरोध गरे ।

त्यसैगरी, चीनका विभिन्न शहरबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाइ सेवा विस्तारका लागि सहयोग गर्न पनि आग्रह गरेका छन् । भ्रमण टोलीमा रहनु भएका अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले नेपालको तर्फबाट गरिएको अनुरोधका विषयप्रति चीन सरकार सकारात्मक रहेको र कामहरु अघि बढाउने प्रतिबद्धता व्यक्त भएको जानकारी दिए । 

करिब एक घण्टा भएको भेटवार्तामा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल, चीनका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र यादव, अर्थ मन्त्रालयका प्रवक्ता भट्टराई, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीहरू सहभागी थिए ।

चीन सरकारको तर्फबाट उपप्रधानमन्त्री हि लिफेङ, यातायात मन्त्री लि स्याओफङ, बेइजिङ महानगरका मु फङ, नेशनल रेलवे एडमिनिस्ट्रेसनका प्रमुख फे दोङ विङ, नागरिक उडड्यन प्रमुख सोङ च्योङ लगायतका अधिकारी सहभागी थिए ।

बुधबार, ०९ असोज २०८१, १२ : ३४

प्रतिक्रिया