काठमाडौं – चाडपर्वहरुमा कालोबजारी बढी उपभोक्ता ठगिने अवस्था नआओस् भनेर काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित खुद्रा तथा थोक पसल व्यापारीहरुलाई प्रचलित मापदण्डबमोजिम सामान बेचबिखन गर्न सचेत गराएको छ । महानगरले मूल्यसूची सबैले देख्नेगरी राख्न, अंकित अधिकतम मूल्य (एमआरपी) भन्दा बढी मूल्यमा सामान बिक्री नगर्न, उपभोग गर्ने अवधि बाँकी भएको मालसामान मात्र बेच्न, खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम राख्नुपर्नेमा सम्झाएको छ ।

मापदण्डविपरीत सामान बेचेको पाइएमा कारबाही गर्ने महानगरद्वारा जारी सूचनामा चेतावनी दिइएको छ । ‘अनुगमनका क्रममा माथि उल्लिखित अवस्थाविपरीत कसैले कुनै वस्तु वा सेवा बिक्री वितरण गरेको पाइएमा, उजुरी परेमा वा गुनासो प्राप्त भएमा यस कार्यालयबाट खटिने अनुगमन टोलीका सदस्य वा कार्यालयबाट प्रचलित कानुनबमोजिम कारबाही गरिने ।’ सूचनामा जनाइएको छ ।
प्रतिक्रिया