असोज १७ गते आन्टरप्रेनर समिट आयोजना हुँदै

बुधबार, ०९ असोज २०८१, १५ : ३७

काठमाडौँ - नेपालको प्रविधि कम्पनी स्वीभ्ट र इन्भेस्टियाको सहकार्यमा आन्टरप्रेनर समिट नेपाल २०२४ आयोजना हुने भएको छ ।

आउँदो असोज १९ गते शनिबार काठमाडौंको सोल्टी होटलमा सम्मेलन आयोजना हुनेछ । सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरूको सहभागीता हुने बताइएको छ । कार्यक्रममा एशिया प्रशान्त क्षेत्रका उद्यमी, लगानीकर्ता र व्यवसायिक नेतृत्वकर्ता लगायत उपस्थित हुनेछन् । नेपालमा विदेशी लगानी र अवसरहरू सिर्जना गर्न समिट महत्वपूर्ण हुने आयोजकको विश्वास छ । 

सम्मेलनमा एक्सिलेरेट भेन्चर्सका सह–संस्थापक र प्रबन्धक साझेदार लिओ लिउ, एसिया सीईओ कम्युनिटी हङकङका संस्थापक र सिईओ ग्यारी लाम, एक्सिलेरेट, हङकङका लविन हेलमानी र फिनटेक ग्लोबल बैंकिङ सोलुसन्स बेलायतका माइकल हो लगायत अन्तर्राष्ट्रिय वक्ताको रूपमा आउँदैछन् । साथै सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र लगानी बोर्डका सिईओ सुशील ज्ञवाली पनि सहभागी हुने अपेक्षा गरिएको छ । 

उद्यमशीलताका बारेमा छलफल हुने कार्यक्रममा हङकङ, सिंगापुर, भारत र नेपालका प्रतिष्ठित व्यवसायिक व्यक्तित्वहरू सहभागी हुनेछ । यसले स्टार्टअप संस्थापक, व्यवसायिक नेतृत्वकर्ता र लगानीकर्ताहरूलाई नेटवर्किङ, रणनीति साझेदारी र सहकार्यको अवसर प्रदान गर्ने आयोजकले जानकारी दिएको छ ।

स्वीभ्टले गत वर्ष फिनटेक सम्मेलनको रूपमा पिएसपी सम्मेलन २०२३ आयोजना गरेको थियो । सो सम्मेलनमा इसेवा, खल्ती, फोनपे, मोरु, डिजिपे, सिजीपे, आईपे जस्ता प्रमुख फिनटेक कम्पनीहरू र नबिल बैंक, ग्लोबल बैंक, सिटिजन बैंक जस्ता ठूला वित्तीय संस्थाहरूले भाग लिएका थिए ।  

यस पटकको उद्यमी शिखर सम्मेलन २०२४ मा नेपालको स्टार्टअप इकोसिस्टमलाई विश्वव्यापी मञ्चमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । आन्टरप्रेनर समिटमा सहभागी हुन चाहनेले https://events.khalti.com/events/ET24BUAKBVDKयो लिंकमा गएर आफ्नो टिकट खरिद गर्न सक्ने छन् । 

बुधबार, ०९ असोज २०८१, १५ : ३७

प्रतिक्रिया