काठमाडौँ - समयमै लिलाम नहुँदा करोडौँ मूल्य बराबरका सवारिसाधन सर्लाही भन्सार कार्यालयमा थन्किएका छन् ।
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बरामद गरेर भन्सार कार्यालयमा दाखिला गरेका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारिसाधन सवारीसाधनका काम नलाग्ने गरी बिग्रिन थालेका हुन् । भन्सार कार्यालयको पार्किङ क्षेत्रमा खुला आकासमुनि वर्षौँदेखि राखिएका सवारी साधनमाथि झारपात पलाएको छ ।
सर्लाही जिल्लाका विभिन्न क्षेत्रबाट चोरी–पैठारी, भारतीय नम्बरको गाडीमा नेपाली नम्बर राखेका लगायतका सवारिसाधन सुरक्षा निकायले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाउने गरेको छ ।
भन्सार कार्यालयमा बुझाइएका अधिकांश सवारिसाधन भारतबाट अवैध रुपमा चोरी तस्करीका सर–समान ढुवानी गर्ने सवारी छन् । गाडीमध्ये सबैभन्दा बढी भन्सार प्रक्रिया पूरा नगरेका भारतीय नम्बरका मोटरसाइकल छन् ।
यस्तै भन्सार शुल्क नतिरी विभिन्न सामान चोरीपैठारी गरिरहेका अवस्थामा सुरक्षाकर्मीले नियन्त्रणमा लिइएका नेपाली गाडी पनि भन्सार कार्यालयको पार्किङमा राखिएका छन् । सुरक्षाकर्मीले चालु अवस्थामा भन्सार कार्यालय बुझाएका सवारिसाधन अहिले कामै नलाग्ने स्थितिमा पुगेको बताइएको छ ।
प्रतिक्रिया