उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको समय

विहीबार, १० असोज २०८१, १४ : ३९

काठमाडौँ - मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ। 

जसअनुसार मंसिर २ गते मनोनयन दर्ताका लागि समय तोकिएको छ। आयोग प्रवक्ता नारायण प्रसाद सापकोटाका अनुसार मनोनयन दर्ता बिहान १० देखि साँझ ५ बजेसम्म हुनेछ। सोही दिन साँझ ६ बजेभित्र उम्मेदवारको सूची प्रकाशन हुने र मंसिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारउपर उजुरी दिने समय निर्धारण गरिएको छ।

मंसिर ४ गते साँझ ५ बजेभित्र मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी नामावली प्रकाशन गरिने प्रवक्ता सापकोटाले बताए । मंसिर ५ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिन समय दिएको आयोगले सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ।

सोही दिन साँझ ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम आयोगले स्वीकृत गरेको हो। मतदान मंसिर १६ गते बिहान ७ देखि साँझ ५ बजेसम्म हुनेछ। मंसिर १३ गते राति १२ बजेपछि प्रचारप्रसार निषेध अवधि लागू हुने आयोगले जनाएको छ।

विहीबार, १० असोज २०८१, १४ : ३९

प्रतिक्रिया