मप विश्वविद्यालयमा ताला लाग्दा नेपाल संस्कृत विश्वविद्यालयमा खुल्यो

शुक्रबार, ११ असोज २०८१, १० : १०

काठमाडौं - नेपालका विश्वविद्यालयहरुमा तालाबन्दी सामान्य बन्दै गएको छ । ज्ञानको अन्वेषण र सिर्जना गर्ने थलो भनिए पनि विश्वविद्यालयहरु दलीय राजनीतिको अखडा बन्दै गएका छन् । कुनैमा ताला लाग्ने र कुनैमा खुल्ने भैरहन्छ । मध्यपश्चिम विश्वविद्यालयमा असोज ८ गते स्ववियु निर्वाचनको बहानामा ताला लाग्यो भने नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुन्डीमा लागेका सबै ताला तीन महिनापछि असोज १० गते खुलेकाछन् । विभिन्न विद्यार्थी संगठनहरूले तालाबन्दी गर्दै आएकोमा बिहीबार सबै संगठनले ताला खोलेको विश्वविद्यालयका तर्फबाट गठित वार्ता टोलीका संयोजक जनता विद्यापीठ बिजौरीका प्राचार्य योगराज शर्माले बताए ।

यसअघि विद्यार्थी संगठन र आंशिक प्राध्यापकहरूले विभिन्न माग राखी तालाबन्दी गरेका थिए । आंशिक प्राध्यापकहरूले यसअघि नै ताला खोले पनि विद्यार्थी संगठनहरूको बाँकी थियो । लामो वार्ता र छलफलपछि विद्यार्थी संगठन ताला खोल्न सहमत भएको शर्माले जानकारी दिए ।

विश्वविद्यालयको बेलझुन्डीस्थित केन्द्रीय कार्यालय र आंगिक निकायमा तीन महिनादेखि ताला लाग्दा आर्थिक, शैक्षिक, प्राज्ञिक र प्रशासनीक काम पूर्ण रूपमा प्रभावित भएका थिए ।

शुक्रबार, ११ असोज २०८१, १० : १०

प्रतिक्रिया