काठमाडौँ- माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औं सम्मेलन कीर्तिपुरमा चलिरहेको छ । विद्यार्थीको ध्यान सम्मेलनले पारित गर्ने नीति र कार्यक्रम भन्दा पनि अध्यक्षमा कुन पक्षले जित्ला भन्नेमा केन्द्रित छ । सहभागीहरु नेतृत्वमा संस्थापन(प्रचण्ड) र उपमहासचिव जनार्दन शर्मा पक्षधर उम्मेदवारबीच प्रतिस्पर्धा हुने बताउँछन् । यद्यपी माओवादी अध्यक्ष पुष्पकमल दाहालले सम्मेलनको उद्घाटन भाषणमा विद्यार्थी नेतालाई गुटबन्दी नगर्न निर्देशन दिए पनि गुटगत प्रतिस्पर्धा हुन लागेको हो ।
संस्थापन पक्षले बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना र सुन तस्करीमा आरोग लागेका दीपेश पुनलाई संस्थापन पक्षले अखिल क्रान्तिकारीको अध्यक्ष बनाउन चाहेको छ । संस्थापन पक्षबाट लुम्बिनीका पूर्वमुख्यमन्त्री जोखबहादुर महराका छोरा तुकमानले पनि अध्यक्षमा दाबी गरेका छन् । पुन र महरा एउटै जिल्ला रोल्पाका हुन् । दुवै उपमहासचिव वर्षमान पुननिकट पनि छन् । शर्मा पक्षबाट भने मदन भुल, क्षितिज सापकोटा, नारायण खनाल अध्यक्षका आकांक्षी छन् । उनीहरूमध्ये एक जनालाई मात्र अघि सार्ने गरी शर्मा पक्षले गृहकार्य गरिरहेको छ ।
अहिले आकांक्षी धेरै देखिए पनि नेतृत्वका लागि मुख्यगरी संस्थापन र शर्मा पक्षबीच प्रतिस्पर्धा हुने अखिलका नेताहरू बताउँछन् ।
यसैगरी संस्थापन पक्षबाट महासचिवमा सुधीन पौडेल, सञ्जय कालधन, प्रशून कार्कीलगायत आकांक्षी देखिएका छन् भने शर्मा पक्षबाट हेमन्त राई, नारायण बडाल, रोशन थापा मगर, मदन लिम्बू, समीर पाण्डे आकांक्षी हुन् । ‘दुवै पक्ष अध्यक्ष, उपाध्यक्ष र महासचिवसम्म प्यानल बनाउने तयारीमा छन्,’ क्रान्तिकारीका एक पदाधिकारीले भने । गत स्थायी समिति बैठकमा उपमहासचिव शर्माले लिखित मत राख्दै अध्यक्ष दाहालले नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्ताव राखेका थिए । त्यसपछि सुरु भएको अन्तरसंघर्ष विद्यार्थी संगठनमा पनि देखिएको हो ।
पार्टीमा अध्यक्ष दाहालले नेतृत्व हस्तान्तरण गर्नुपर्ने लिखित मत राखेपछि शर्मा देशव्यापी रूपमा आफ्नो मतप्रचार गर्दै हिँडेका छन् । अर्का उपमहासचिव पुनले सरकारमा र बाहिर रहँदा दाहाललाई नजिकबाट सघाउँदै आएका छन् ।‘ पुन र शर्माबीच सम्बन्ध धेरै राम्रो पनि छैन, बिग्रिएको पनि छैन,’ माओवादीका एक नेताले भने, ‘विद्यार्थीको नेतृत्व कसको पक्षमा जान्छ, त्यसले पनि यी दुई नेताबीच आगामी सम्बन्धबारे केही स्पष्ट पार्न सक्छ ।’ विद्यार्थी संगठनको नेतृत्वका लागि हुने चुनावमा संस्थापन पक्षलाई जिताउने गृहकार्यमा लाग्न उपमहासचिव पुनलाई दाहालले परिचालन गरेको कतिपय विद्यार्थी नेताको दाबी छ । ‘तर आफ्नो पक्षलाई जिताउन पुनभन्दा शर्मा बढी सक्रिय देखिएका छन्,’ एक विद्यार्थी नेताले भने ।
अखिल क्रान्तिकारीको बिहीबार सुरु भएको २३ औं राष्ट्रिय सम्मेलनमा २ हजार ३ सय प्रतिनिधि सहभागी छन् । केन्द्रीय समितिमा ३३ पदाधिकारी र २ सय ४३ केन्द्रीय सदस्य रहने व्यवस्था विधानमा छन् ।
प्रतिक्रिया