काठमाडौं - देशको सबभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालय (त्रिवि) को मानविकी अध्ययन संकायको डिन नियुक्ति प्रक्रिया अघि बढेसँगै विवाद खडा भएको छ। त्रिविले राजनीतिक दबाबलाई निरुत्साहित गर्ने लक्ष्यसहित रिक्त हुने कार्यक्रम संयोजकदेखि अनुसन्धान केन्द्र निर्देशकसम्मका पदपूर्तिका लागि मापदण्डका आधारमा प्रक्रिया अगाडि बढाएपछि छनोट समितिले आफूखुसी गरेको भन्दै विरोध भइरहेको छ।
छनोट समितिले मानविकी संकायको डिन नियुक्ति प्रक्रिया मापदण्डकै आधारमा अगाडि बढाए पनि योग्य उम्मेदवार छनोटमा आफूखुसी गरेको भन्दै विवाद उत्पन्न भएको हो।
डिनका उम्मेदवार प्राध्यापक कृष्णराज आचार्यले विद्यावारिधि उपाधि हासिल गरेको प्रमाणपत्र पेस गर्दासमेत आफ्नो विद्यावारिधिको नम्बर नै नजोडी सर्टलिस्ट निकालिएपछि उपकुलपति कार्यालयमा छनोट प्रक्रियाविरुद्ध निवेदन दर्ता गराएका छन्।
आचार्यले ‘मैले संस्कृत विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेको शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको छु। तर मेरो विद्यावारिधिको ८ अंक गणना नगरी पाँचजनाको नाम सर्टलिस्टमा प्रकाशित गरिएको रहेछ,’ आजको अर्थसँग भने, ‘छनोट समितिले मेरो विद्यावारिधिको अंक नजोडी त्रुटिपूर्ण ढंगले नतिजा प्रकाशन गरेकाले त्यसलाई सच्याउन उपकुलपतिसमक्ष निवेदन पेस गरेको छु। त्रिविले त्रुटि नसच्याए मैले कानुनी उपचार खोज्नेछु। कुनै कागजात नपुगेको भए समितिले माग्नुपथ्र्यो। विद्यावारिधि गरे पनि त्यसको अंक नदिएर मलाई रिङआउट गरी छनोट समितिले आफ्नालाई रोज्यो।’
छनोटको आधार मापदण्ड बनाइए पनि दलनिकटकै व्यक्ति नियुक्ति गर्न चलखेल गरिएको हुन सक्ने उनले बताए।
प्रतिक्रिया