सबैभन्दा लामो झोलुंगे पुलको उद्घाटन

शुक्रबार, ११ असोज २०८१, ११ : ०२


काठमाडौं - नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) क्षेत्रका करिब तीन सय ५० घरधुरीलाई ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री दीपक खड्काले न्यूनतम विद्युत् महसुल एक वर्षका लागि छुट गर्ने घोषणा गरेका छन्।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्रमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिएको त्रिवेणी–महेशपुर (सुस्ता) मल्टिस्पान झोलुंगे पुल तथा एकीकृत राष्ट्रिय विद्युत् प्रणालीबाट विद्युत् आपूर्ति शुभारम्भ कार्यक्रममा ऊर्जामन्त्री खड्काले बिहीबार विद्युत् जडान भएका सुस्ता पश्चिमका करिब तीन सय ५० घरधुरीलाई न्यूनतम विद्युत् महसुल एक वर्षका लागि छुट गर्ने घोषणा गरेका हुन् ।

नेपाल विद्युत् प्राधिकरणबाट विस्तारित राष्ट्रिय प्रसारण प्रणाली र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा निर्मित सौर्य मिनीग्रिड प्रणालीलाई आबद्ध गरी एकीकृत राष्ट्रिय विद्युत् प्रणालीबाट विद्युत् आपूर्ति शुभारम्भ गरिएको थियो।

सो अवसरमा उर्जामन्त्री खड्काले धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले अत्यन्तै महत्वपूर्ण भएर पनि लामो समयदेखि भरपर्दो र विश्वसनीय विद्युत् सेवा उपयोगबाट बञ्चित रहेको सुस्ता क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीको विस्तार कार्य सम्पन्न हुनुले सरकारले राखेको शतप्रतिशत विद्युतीकरणको लक्ष्यलाई सहयोग पुग्ने बताए। शुभारम्भसँगै नवलपरासी जिल्लामा पूर्णरूपमा विद्युतीकरण भएको छ।

यसैबीच, राष्ट्रपति पौडेलले नेपालकै सबैभन्दा लामो त्रिवेणी–महेशपुर (सुस्ता) एक हजार पाँच सय ७१ मिटर झोलुंगे पुलको समेत उद्घाटन गरे।

शहरी विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवम् सहरीविकास मन्त्री प्रकाशमान सिंहले नदी तरितराउको अभावमा वर्षौंदेखि सुस्ता क्षेत्रका नागरिकले आफ्नो दैनिक जीवन सञ्चालनका लागि डुंगाको भर परेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्थाबाट पुल बनेसँगै उक्त समस्याको समाधान भएको बताए।

शुक्रबार, ११ असोज २०८१, ११ : ०२

प्रतिक्रिया