घुम्ने होइन त लुम्बिनी ?

शुक्रबार, ११ असोज २०८१, ११ : १७

काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्ध लुम्बिनीको लागि पर्यटनलाई विकास गर्नुपर्ने बताएका छन् । उनले आत्मनिर्भर प्रदेशको दीर्घकालीन लक्ष्य पूरा गर्न पर्यटन क्षेत्र महत्त्वपूर्ण आधार स्तम्भ भएको बताएका छन् ।

विश्व पर्यटन दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले‘घुमौँ लुम्बिनी’ भन्ने मान्यता प्रदेश सरकारले स्थापित गर्न खोजेको बताएका हुन् ।
 प्रदेश सरकारले ४५ औँ विश्व पर्यटन दिवस दाङको घोराहीमा भव्य कार्यक्रमको आयोजना गरेर मनाउँदै छ । ‘पर्यटन, न्याय र शान्ति’ भन्ने नाराका साथ यस वर्ष पर्यटन दिवस मनाउन थालिएको हो ।‘पर्यटनबाटै नागरिकलाई स्वरोजगार बनाउन सकिन्छ । त्यसैले नागरिकको जीवनस्तर उठाउने एउटा आधारको रूपमा प्रदेश सरकारले पर्यटन क्षेत्रलाई लिएको छ’शुभकामना सन्देशमा भनिएको छ,‘स्थानीय उत्पादन बढाउने, त्यसमा नागरिकलाई जोड्ने र पर्यटनसँग केन्द्रित गरेर आयआर्जनका अवसरहरू सिर्जना गर्न सरकार पूर्ण प्रतिबद्ध छ ।’

सरकारले लुम्बिनी भ्रमणमा आउने पर्यटकहरूलाई १२ जिल्लाका महत्त्वपूर्ण पर्यटकीय स्थलमा पुर्‍याउन लुम्बिनी पर्यटन सर्किट बनाउनेगरी  काम थालेको मुख्यमन्त्री आचार्यको भनाई छ ।‘ लुम्बिनी भूगोलमा विविधतायुक्त प्रदेश हो । हिमाल यहीँ छ, पहाड यहीँ छ र समथर भू–भाग अनि अन्नको भण्डार पनि यहीँ छ ।

मुख्यमन्त्री आचार्यकाशुभकामना सन्देशमा भनिएको छ,‘विभिन्न जातजाति, धर्म, संस्कृति, प्राकृतिक, स्रोतसाधन, जैविक विविधतालगायतका क्षेत्र यहाँको पर्यटन प्रवर्धनका आधारस्तम्भ हुन् । सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनी यहाँको प्रमुख पर्यटकीय गन्तव्यस्थल हो भने लुम्बिनी आउने हरेक पर्यटकलाई प्रदेशका १२ जिल्लामा पर्यटकीय स्थल, धार्मिक सम्पदा तथा निकुञ्जको भ्रमण गराउन प्रदेश सरकारले योजना बनाएको छ । यहाँको हिमाल, पहाड र तराईलाई जोड्नेगरी पर्यटन सर्किटको विकास गर्ने योजना हो ।’

लुम्बिनी प्रदेशमा पर्वतीय पर्यटन, साहसिक तथा मनोरञ्जनात्मक पर्यटन, सामाजिक सांस्कृतिक पर्यटन तथा पर्यापर्यटनको माध्यमबाट संरक्षण, विकास र प्रवर्धन गर्नसक्ने थुप्रै सम्भावनाहरु रहेको मुख्यमन्त्री आचार्यले बताएका छन् ।

शुक्रबार, ११ असोज २०८१, ११ : १७

प्रतिक्रिया