सर्वोत्तम सिमेन्टद्वारा निःशुल्क स्वास्थ्य शिविरको आयोजना

शुक्रबार, ११ असोज २०८१, १२ : ४१

काठमाडौँ - सर्वोत्तम सिमेन्टले असोज ५ गतेका दिन झापा जिल्लाको भद्रपुर नगरपालिका वडा नं. ९ मा अवस्थित आफ्‌नो सर्वोत्तम ईष्ट प्रा.लि.को कारखाना स्थलमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । 

“सुखद जीवनका लागि हौं निरोगी" भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल १०६ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएका छन् र कम्पनीले निःशुल्क औषधी समेत वितरण गरेको छ । उक्त शिविरमा वरिष्ठ फिजिशियन तथा वरिष्ठ गाइनोकोलोजिष्ट लगायत अन्य १२ जना सहयोगीहरुले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका थिए । 

साथै, उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका उपप्रमुख श्रीमती राधा कार्की, वडा नं. ९ का वडा अध्यक्ष श्री राम प्रसाद दाहाल, प्रगति टोल विकास समितिका अध्यक्ष श्री टेक बहादुर रोक्का तथा यसै उद्योगका प्रतिष्ठित व्यक्तित्वहरु अतिथिका रुपमा उपस्थिति रहेको थियो । 

आफ्‌नो सामाजिक उत्तरदायित्व बोध गर्दै कम्पनीले सो निःशुल्क स्वास्थ्य शिविरको कार्यक्रम ल्याएको हो । साथै आगामी दिनहरुमा पनि यस प्रकारका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै जान कम्पनी प्रतिबद्ध छ ।
 

शुक्रबार, ११ असोज २०८१, १२ : ४१

प्रतिक्रिया