काठमाडौँ — अविरल वर्षाका कारण अबरुद्ध भएका काठमाडौं जोड्ने सडक नाका ठप्प बनेका छन् । नागढुंगा–मुग्लिन, दक्षिणकाली–सिस्नेरी, कान्ति राजपथ, अरनिको र बीपी राजमार्गका ठाउँ–ठाउँमा पहिरो खसेर सडक अवरुद्ध बनेपछि काठमाडौं छिर्न र यहाँबाट बाहिरिन सर्वसाधारणलाई समस्या भयो । जसले गर्दा यी नाका भएर दैनिक उपभोग्य वस्तु राजधानी भित्रिन सकेनन् । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण सबै नाका ठप्प बनेका हुन् ।
शनिबार साँझ अबेरसम्म देशभरका विभिन्न सडकखण्डका ६८ स्थानमा पहिरो खसेर यातायात ठप्प भएको छ । ठाउँ–ठाउँमा पहिरो खसेका कारण ती सडक खण्डमा यातायात सञ्चालनमा आउन सकेको छैन । सबैभन्दा बढी पहिरो नौबिसेदेखि मुग्लिनसम्मको सडक खण्डमा छ । यही सडकमा पर्ने झ्याप्ले खोलामा पहिरो खस्दा केही यात्रुवाहक सवारी पुरिएर मानवीय क्षतिसमेत भएको छ ।
नौबिसे–मुग्लिन सडकको मझिमटार, मौवाखोला, घोप्टेभिरमा पहिरो खसेर शनिबार दिनभर यातायात ठप्प बनेको छ । नागढुंगा सुरुङमार्गको मुखैमा लेदोसहित पहिरो खस्दा यातायात ठप्प छ । यो खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । धादिङतर्फ रोकिएका यात्रुवाहक र कुखुरा बोकेका केही सवारीसाधनलाई निर्माणाधीन नागढुंगा सुरुङमार्ग प्रयोग गरी काठमाडौं आउन सहजीकरण गरिएको छ ।
प्रतिक्रिया