काभ्रेको पनौती र रोशीमा ठूलो क्षति

आइतबार, १३ असोज २०८१, ०९ : १८

काठमाडौं- मुलुकभर परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकमा ठुलो मानवीय र भौतिक क्षति भएको छ । काभ्रेका हरेकजसो गाउँमा पहिरो गएको छ । रोशी र अन्य साना खोलाले बिपी राजमार्ग कटानसहित दर्जनौँ घर बगाएको छ । 

 काभ्रेकी प्रहरी प्रमुख एसपी वसुन्धरा खड्काका अनुसार सबैभन्दा धेरै क्षति पनौती नगरपालिका र रोशी गाउँपालिका भएको छ । ‘काभ्रेमा पहिरो नगएको गाउँ छैन,’ उनी भन्छिन्, ‘ठूलो क्षति पनौती र रोशीमा भएको छ, धेरै ठाउँमा सञ्चारविच्छेद हुँदा विवरणसमेत पाउन सकेका छैनौँ ।’ रोशी खोला पनौती हुँदै रोशी गाउँपालिकातर्फ बग्दछ । ठुलो बर्खापछि रोशीमा भेल उग्र हुँदा खोलाआसपासका दर्जनौँ घरहरू बगाएको हो । ठाउँठाउँमा बिपी राजमार्ग कटान गरेको छ । नदीआसपासको मापदण्डविपरीतका क्रसरहरूका कारण पनि ठुलो क्षति भएको स्थानीयको भनाइ छ । रोशी–२ स्थित नार्के बजारलगायत किनारामा रहेको बस्तीमा बाढीले ठुलो क्षति गरेको छ ।  बाढी र पहिरोले काभ्रेमा शनिबार रातिसम्म १४ जनाको मृत्यु र २६ जना बेपत्ता भएको प्रहरीको भनाइ छ । तर, वास्तविक क्षति धेरै रहेको प्रहरी अधिकारी बताउँछन् । विभिन्न ठाउँमा घर पुरिएको र त्यहाँभित्र मान्छे परेकोमा उद्धार हुन सकेको छैन । तेमाल गाउँपालिकामा मात्र १२ जना घरभित्र पुरिएका छन् । पनौती– ११ थुम्कीमा पहिरोले दर्जनौँ घर बगाएको छ । यस्तै, नमोबुद्ध, भुम्लु, चौरी देउरालीमा पनि घरहरू पुरिएकोमा सुरक्षाकर्मी पुग्न सकेका छैनन् । महाभारत र खानीखोला क्षेत्रमा सञ्चार सम्पर्क नै हुन नसकेको प्रहरीले जनाएको छ । सडक सबै अवरुद्ध भएकाले पनि उद्धारमा जान कठिनाइ भएको एसपी खड्काले बताइन् । 

आइतबार, १३ असोज २०८१, ०९ : १८

प्रतिक्रिया