सप्तकोशीमा बाँध निर्माण भएयताकै दोस्रो ठूलो बाढी मापन

आइतबार, १३ असोज २०८१, १५ : ४२

काठमाडौँ- सप्तकोशीमा बाँध निर्माण भएयता आइतबार दोस्रो ठूलो बाढी मापन भएको छ । सन् १९६२ मा निर्माण सम्पन्न भएको कोशी ब्यारेजमा सन् १९६८ (२०२५ साल) मा अत्याधिक बाढी मापन भएको थियो ।


त्यसयता आइतबार बिहान अत्याधिक बाढीको बहाव मापन भएको कोशी भुआर्जन अधिकृत चैतन्यप्रसाद सिटौलाले जानकारी दिए । आइतबार बिहानपछि भने पानीको मात्रा घट्न थालेको छ ।

आइतबार बिहान कोशी ब्यारेजमा पानीको बहाव ६ लाख ६१ हजार ०५ क्युसेक मापन भएको थियो । सिटौलाका अनुसार सन् १९६८ अक्टोबर ५ (२०२५ असोज २० गते) मा कोशीमा ७ लाख ८८ हजार २०० क्युसेक बहाव मापन भएको रेकर्ड थियो ।

त्यसपछि आइतबार बिहान ६ लाख ६१ हजार क्युसेक मापन भएको उनले बताए । बिहानबाट भने कोशीको बहाव घट्न थालेको छ । जोखिम कायमै रहेका कारण ब्यारेजका ५६ वटै ढोका खुला छन् ।

ब्यारेजको पुलबाट अत्यावश्यक बाहेकका सवारीसाधन र पैदलयात्रीलाई आवतजावतमा रोक लगाइएको छ । २०६५ साल भदौ २ गते कोशीको पूर्वतर्फको बाँध फुटेर बस्तीमा पस्दा १ लाख ६८ हजार क्युसेक बाढी मापन भएको थियो । सन् १९६२ मा बनेको कोशी ब्यारेजमा ९ लाख ५० हजार क्युसेक पानीको बहाव थेग्नसक्ने क्षमता छ ।

तर ब्यारेज भन्दा उत्तरतर्फको भाग बालुवाले पुरिएका कारण क्षमता बराबरको बहाव थेग्न सक्ने अवस्था छैन ।

आइतबार, १३ असोज २०८१, १५ : ४२

प्रतिक्रिया