काठमाडौँ - भाद्र शुक्ल पूर्णिमाको दिन पूर्णिमा तिथिको श्राद्ध गरी यसपछि आश्विन कृष्ण पक्षका १५ दिन क्रमशः प्रतिपदादेखि अमावस्या (औँसी) सम्म तिथिअनुसार श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो । १६ दिनसम्म पितृप्रतिको सम्मान प्रकट गरिने भएकाले यस अवधिलाई पितृ पक्ष भनिन्छ ।
पर्व तिथिका अवसरमा गरिने श्राद्ध भएकाले यसलाई पारवन वा महालय श्राद्ध पनि भनिन्छ । पितृहरूलाई प्रसन्न पार्न तथा जानेर वा नजानेर पितृहरूको अनादर भएको छ भने उनीहरूप्रति कृतज्ञता व्यक्त गर्ने तथा क्षमा माग्नका लागि यो श्राद्ध गर्ने धार्मिक चलन छ ।
सोह्र श्राद्धमा प्रत्येक तिथिका दिन मानिसहरू आफ्ना पूर्वजहरूको मृत्यु तिथिअनुसार श्राद्ध गर्छन् । जसलाई पूर्वजको मृत्यु तिथि थाहा हुँदैन उनीहरूले सर्वपितृ मोक्ष अमावस्याका दिन अर्थात् आश्विन कृष्ण पक्षको औँसी तिथिमा श्राद्ध गर्छन् ।
कुम्भेश्वरमा दैनिक पूजा पाठ गराउँदै आएका पण्डित ध्रुव प्रसाद ढकालका अनुसार पञ्चमी तिथिमा अविवाहित स्थितिमा मृत्यु भएकाहरूको र नवमी तिथि माताको श्राद्धका लागि उत्तम मानिन्छ ।
'एकादशी एवं द्वादशी तिथिका दिन परिवारका ती व्यक्तिहरूको श्राद्ध गर्ने विधान छ जसले संन्यास लिएका छन् । चतुर्दशी श्राद्ध अकाल मृत्यु भएकाहरूका लागि गरिन्छ । प्रतिपदा तिथि मावलीका बाजे बज्यैको श्राद्धका लागि उत्तम मानिन्छ । यदि मावलीको परिवारमा श्राद्ध गर्ने व्यक्तिको अभाव छ र तिनको मृत्यु तिथि पनि थाहा छैन भने यस तिथिका दिन श्राद्ध गर्नाले तिनको आत्मालाई शान्ति प्राप्त हुन्छ भन्ने मान्यता छ', ढकालले भने।
कुम्भेश्वरमा दैनिक पूजा पाठ गराउँदै आएका पण्डित गणेश पोखरेलका अनुसार श्राद्धभन्दा एक दिन अगाडि नङ, कपाल आदि काटी एक छाक मात्र सात्विक भोजन गरी चोखोनीतो गर्नु पर्दछ ।
'श्राद्धको एक दिन अगाडिको दिनलाई ‘एकछाकी’ भन्ने गरिन्छ । श्राद्धका दिन तथा सोह्र श्राद्धको पूरा अवधिभर घरमा तामसी भोजन माछा मासु, मदिरा वा कुनै मादक पदार्थको सेवन र संसर्ग गर्नु हुँदैन । त्यस्तै मुसुरीको दाल, लौका, चिचिन्डो, बैगुन, लसुन, प्याज, कोदो, तीते फापर लगायतका खाद्यवस्तुहरूको प्रयोग गर्नु हुँदैन' ,पोखरेलले भने ।
कस्तो छ गुरुहरूको सोह्र श्राद्धमा कमाई
सोह्र श्राद्धमा पण्डितहरूलाई आफ्ना यजमानको धरमा श्राद्ध गर्न भ्याइनभ्याइ छ । प्राय दिनको नै ३देखि ५ ओटा सम्म श्राद्ध गर्ने गरेको कुम्भेश्वमा सोह्र श्राद्ध गराउँदै गरेका पण्डित गणेश पोखरेलले बताएका छन् । उनले सोह्र श्राद्धको समयमा दिनको तिन चार हजार देखि दश हजार सम्म कमाउने गरेको बताए ।
अरू बेलामा कहिले पाँच रुपियाँ हुन कहिले पन्ध्र हजारसम्म पनि कमाइछ उनले बताए । प्राय बिहीबार भिड हुने यस मन्दिरमा आफ्नो कमाई राम्रो हुने गरेको उनले बताएका छन् । उनले आफ्नो कमाईले नै परिवारको खर्च उठाने गरेको बताएका छन् । पण्डित ध्रुवप्रसाद ढकालले सोह्र श्राद्ध अवधि भरिका ५० हजार जति कमाउने गरेको बताएका छन् ।
सोह्र श्राद्धको धार्मिक विधि
पितृ पक्ष सूर्य दक्षिणायन भएको बेलामा पर्दछ । शास्त्रबमोजिम सूर्यले यस समयमा सन्ततिले श्राद्ध गरी तृप्त भएका पितृहरूको आत्मालाई मुक्ति प्रदान गर्दछन् । त्यसैले पनि पितृहरू आफू दिवङ्गत भएको तिथिका दिन आफ्ना सन्ततिहरूबाट आफ्नो उद्धारको आकंक्षा राखी पिण्ड र तर्पणको आशा गर्दछन् । त्यसैले प्रत्येक सन्ततिले आफ्ना दिवङ्गत भएका मृत पितृहरूलाई उद्देश्य गरी श्राद्धादि कर्म गर्ने गर्दछन् ।
पितृपक्षमा गरिने श्राद्ध दिनको तेस्रो पहरमा गर्नु पर्दछ । तैत्तिरीय संहितामा बताइएअनुसार सृष्टिको प्रारम्भमा पूर्व, पश्चिम र उत्तर दिशा क्रमशः देवता, मनुष्य र रुद्रदेवलाई प्रदान गरिएको थियो । अनि दक्षिण दिशा पितृहरूको भागमा पर्यो । त्यसैले पितृहरूको श्राद्ध र पूजादि सदैव दाहिने काँधमा जनै भिरेर दक्षिण दिशातर्फ फर्किई गर्नुपर्दछ ।
कुनै पनि श्राद्धमा गंगाजल, दूध, मह, तोरीको साग, छोरीको छोरो, कुश र तिल महत्त्वपूर्ण मानिन्छन् । यसबाहेक श्राद्धमा प्रयोग गरिएको तुलसीको मञ्जरीबाट पितृगण प्रसन्न रहन्छन् भन्ने गरिन्छ र पिण्डको भित्री भागमा तुलसीको मञ्जरी लुकाउने चलन पनि छ । यसरी मञ्जरीको उपयोग गरेमा पितृगण गरुडमा सवार भई सीधै विष्णुलोक पुग्दछन् भन्ने मान्यता छ ।
प्रत्येक गृहस्थीले नियमित श्राद्ध सम्भव भएसम्म घरैमा गर्नु पर्दछ । बन्धुबान्धव र सगोत्रीको स्वामित्व भएको घर वा कोठाचोटामा श्राद्ध गर्दा फरक पर्दैन । तर अर्काको घर वा डेरामा श्राद्ध गर्दा पितृ अप्रसन्न हुने मात्र होइन, तिनको शक्ति र सामर्थ्यमा पनि कमी आउँछ भन्ने शास्त्रीय मान्यता छ ।
त्यसैले खास गरी सहरी क्षेत्रमा अरूको स्वामित्वको घरमा डेरा गरी बस्ने श्राद्धकर्ताले श्राद्ध र तर्पणादि कार्य सकेसम्म नजिकको तीर्थक्षेत्र वा मन्दिरमा गई गर्नु उपयुक्त हुन्छ । मन्दिर वा तीर्थक्षेत्र पनि नजिकै छैन भने आँगनमा बनाइएको तुलसीको मठ छ भने गृह मालिकको स्वीकृति लिई त्यहाँ श्राद्ध गरेमा दोष लाग्दैन ।
प्रतिक्रिया