काठमाडौंबाट बस छुटाइने बस उज्यालोमै नारायणगढ पुग्ने

बुधबार, १६ असोज २०८१, ०८ : ०६

काठमाडौं -अविरल वर्षापछि पनि सुख्खा पहिरो जाने खतरालाई ध्यानमा राखी काठमाडौंबाट छुटेको सवारीसाधन उज्यालोमै नारायणगढ पुग्ने गरी यातायात व्यवस्थापन गरिने भएको छ ।

मङ्गलबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको अध्यक्षतामा बसेको सरोकारवाला प्रतिनिधिहरुबीचको छलफलले सवारीसाधन छुटेपछि परिस्थिति हेरी उज्यालो समयमै आफ्नो सवारी साधन नारायणगढ पुग्ने गरी समय व्यवस्थापन गर्न यातायात व्यवसायीलाई अनुरोध गर्ने र सुरक्षा निकायले सोही अनुरुप यातायात व्यवस्थापनमा सहजीकरण गर्नेसहितका १० बुँदे निर्णय गरेको हो ।

सडकमा पहिरो आई वा बाढीले सडक बगाउँदा बीच बाटोमै अलपत्र परेका यातायात मजदुर तथा व्यवसायीलाई यथाशीघ्र उद्धार तथा राहत उपलब्ध गराउन गृह मन्त्रालयमा अनुरोध गर्ने, विषम परिस्थितिका कारण उत्पन्न हुन सक्ने दुर्घटना एवं जोखिम न्यूनीकरण गर्न अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा गर्नै परे सावधानी एवं सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

देशभरिका विपद्सम्बन्धी एवं बाटोको अवस्था बारेमा आवश्यक सूचना नेपाल प्रहरी प्रधान कार्यालयले नियमित रुपमा आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गर्ने, यातायातको अग्रिम टिकट लिइसकेकालाई प्राथमिकता दिई गन्तव्य स्थलसम्म पु¥याउने सुनिश्चितता गर्ने तथा थप अग्रिम टिकट बुकिङ गर्ने सन्दर्भमा गृह मन्त्रालयको विपद्सम्बन्धी सूचनालाई आधार मानी बाटोको सुनिश्चिता हेरेर मात्र सम्बन्धित रुटको अग्रिम टिकट काट्न यातायात व्यवसायीमा अनुरोध गरिएको छ ।

यसैगरी वैकल्पिक मार्गहरुको पहिचान गरी ठूला सवारीसाधन चल्ने र साना सवारी साधन चल्ने प्राथमिकताका बाटो छनोट गरी सवारी सञ्चालन गर्ने तथा वैकल्पिक मार्गको जानकारीको सूचना यातायात व्यवस्था विभागको वेवसाइटमार्फत जानकारी गराउने निर्णय पनि र्बठकमा भएको बताइएको छ । 

बुधबार, १६ असोज २०८१, ०८ : ०६

प्रतिक्रिया