हवाइ टिकटमा मनपरी, सरकार रमिते

बुधबार, १६ असोज २०८१, ०९ : ०५

काठमाडौं - नागरिकलाई अप्ठेरो परेकोबेला हवाइ यातायात सञ्चालकहरुले झन सास्ती दिन थालेका छन् । लगातार तीन दिन परेको पानीले गर्दा देशका विभिन्न स्थानमा गएको बाढी–पहिरोका कारण राजमार्ग बन्द भएपछि हवाई टिकटको अभाव हुन थालेको छ। पहिरोको कारण उपत्यकाबाट बाहिरिनेरभित्रिने मुख्य राजमार्गहरूमा अवरोध भएपछि मानिसहरू हवाई मार्गबाट जान खोज्दा हवाई टिकटको अभाव भएको हो। हवाइ कम्पनिहरु कमाउने मौका यही हो भनेर चर्को असुलीमा लागेका छन् । सरकार भने रमित बनेको छ । भाडा घटाउन ‘अनुरोध’ गरेर सरकारले नागरिक दायित्व पुरा गरेको नाटक गरिरहेको छ । हवाइ कम्पनिहरुले सरकारको अुनरोधलाई टेरेका छैनन् । 

जसरी पनि घर जानैपर्ने बाध्यतामा भएका यात्रुले उच्च दरमै टिकट काटेर यात्रा गर्छु भन्दा पनि हवाई टिकट पाउन सकिरहेका छैनन् । उपत्यकाबाट बाहिरिनेरभित्रिने मुख्य राजमार्गहरूमा अवरोध आउँदा हवाई यात्राको लागि अत्यधिक टिकटको माग छ। हवाई टिकटको अत्यधिक माग भएको अवस्थामा गाडीको जस्तो जहाजको ‘ट्रिप’ थप्न नसकिने बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले बताए। ‘यात्रु धेरै भए भनेर जहाज कम्पनीहरूले थप उडान गरिहाल्न पाउँदैनन्।’ उनले भने, ‘कम्पनीले उड्डयन प्राधिकरणबाट अनुमति लिएर सोही अनुरूप सबै प्रक्रिया पुर्‍याएर मात्र थप उडान गर्न पाउँछ।’

यसैबीच बाढीपहिरोको विपदले राजमार्ग बन्द भएको अवस्थामासमेत वायुसेवा कम्पनीहरूले टिकटको मूल्य अत्यधिक बढाएको भनेर विरोध भइरहेको छ। यसैक्रममा वायुसेवा सञ्चालक संघले यस विपदको घडीलाई विचार गर्दै असोज १४ देखि १६ गतेसम्म नेपाल सरकारले तोकेबमोजिम लिँदै आएको उच्चतम भाडादरमा टिकट नबेच्ने निर्णय गरेको थियो। 

यसैक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको निर्देशनमा सडक पूर्ण रूपमा सञ्चालन नभएसम्म हवाइ टिकट सस्तोमा बेच्न पहल गरेका छन्। मन्त्री पाण्डेको विशेष पहलपछि सडक सञ्जाल सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम हवाई भाडा नलिन बायुसेवा कम्पनीहरू सहमत भएका छन्।

मन्त्रीले टिकटको मूल्य सस्तोमा बेच्ने पहल गर्दैगर्दा काठमाडौंबाट हुने उडानमा वायुसेवा कम्पनीले टिकटको मूल्य अरूबेलाको भन्दा दोब्बर लिइरहेका छन्। राजमार्ग बन्दा हुँदा हवाई टिकटको माग अत्यधिक भएका कारण टिकटको अभाव हुँदा उपत्यकाबाट बाहिरिने हवाई टिकटको मूल्य न्यूनतम भाडादरमा कम्पनीले नदिने यात्रुहरूको बुझाइ छ। 

बुधबार, १६ असोज २०८१, ०९ : ०५

प्रतिक्रिया