काठमाडौं - सरकारले बजेट भाषणमा शिक्षकहरुलाई मासिकरुपमा पारिश्रमिक प्रदान गर्ने भने पनि तुलसीपुरका शिक्षकहरुले तलब खान नपाएको बताएका छन् । मावि कालाखोलामा अध्यापन गराउँदै आएका शिक्षक शोभाराम धितालले सामाजिक सञ्जालमार्फत तुलसीपुर उपमहानगरपालिकाको यथार्थ बाहिर ल्याएका छन् । ‘तुलसीपुरले मासिकरुपमा तलब दिने निर्णय गरेको छ । ३ गतेभित्र हाजिरी नबुझाए कारवाही स्वरुप त्यो महिनाको तलब रोक्ने गरेको छ तर आफूले तलब समयमा कहिल्यै हाल्दैन’– उनले भने– ‘असोज लागिसक्यो, साउनको तलबको सुरसार छैन । शिक्षामन्त्रीको भनाइ पनि पत्याइदिनुपर्ने होला †’
तुलसीपुर उपमहानगरपालिकाले पालिका मातहतका शिक्षक तथा कर्मचारीहरुले साउनयता तलब नपाएको गुनासो सामाजिक सञ्जालमार्फत गर्न थालेका छन् । पालिकाको मुख्य कार्यालयमा कार्यरत एक कर्मचारीले असोजको मध्यसम्म आइपुग्दा पनि साउनकै तलब नपाइँदा व्यवहार चलाउन समस्या भएको सुनाए । ‘सबैजना स्थानीय हुँदैनन् । टाढाका यहाँ डेरा गरेर जागिर गरिरहेका कर्मचारीहरुले सबै कुरा किनेरै चलाउनुपर्छ । त्यसमाथि घरभाडा नियमित बुझाउनुपर्छ । यसका लागि त नगद नै चाहिन्छ, सबैले घरबाट मगाएर चलाउने अवस्था पनि नहुन सक्छ’– उनले भने– ‘घरबारी बेचेर दिने कुरा होइन, कर्मचारीको तलबका लागि सिस्टममा आएको रकम वितरण गर्ने मात्रै हो । फेरि त्यो पैसा बैंकमा राख्दा पालिकाले ब्याज पाउने पनि होइन । भएको चिज पनि वितरण गर्न आनाकानी गर्ने ?’
करार तथा ज्यालादारी कर्मचारीहरुले नि तलब नपाएको गुनासो गरेका छन् । उनीहरुले तलबको कुरा त परै जाओस्, हालसम्म करार सम्झौतसमेत हुन नसक्दा आफ्नो जागिर के हुने हो भन्ने विषयमा अन्यौल भएको बताउँछन् । तुलसीपुर उपमहानगरपालिका मातहतमा कार्यरत दुई सय तीनजना करार तथा ज्यालादारी कर्मचारीले २०८१ असारसम्मको तलब बुझेका छन् । उनीहरु अहिले पनि कार्यरत छन् तर उनीहरुको करार सम्झौता अझै हुन सकेको छैन । नियमानुसार करार तथा ज्यालादारीका कर्मचारीलाई करार सम्झौता नगराइ काममा लगाउन पाइँदैन । नाम नबताउने शर्तमा एकजना करार कर्मचारीले भने– ‘असारमा करार सम्झौता सकिएको हो, यो वर्षका लागि अहिलेसम्म करार सम्झौताको सुरसार छैन । जागिर पनि के कसो हुने हो भन्ने कुरा आइरहेको छ । चाडपर्व नजिकियो तलब नआएको यो तेस्रो महिना हो । यही जागिरको भरमा परिवार चलाउँदै आएकालाई असाध्यै गाह्रो छ । ढुक्क भएर काम गर्ने अवस्था छैन ।’
प्रतिक्रिया