काठमाडौँ - ठूलो तामझामका साथ उद्घाटन भएको अनेरास्व्वियु (अखिल क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन नेतृत्व चयन नगरिकनै स्थगित भएको छ । उमेर हदको विवाद लम्बिनुका साथै अध्यक्ष को बन्ने भन्ने विषयसमेत पेचिलो बन्दै गएपछि समय अभावको कारण देखाउँदै सम्मेलन नै स्थगित गरिएको प्रतिनिधिहरु बताउँछन् ।
पार्टी नेतृत्वलाई आफ्नो पक्षको उम्मेदवारले निर्वाचनमा जित्न नसक्ने ठानेर सम्मेलनमा भाँडभैलो मच्चाएको अधिकांश प्रतिनिधिहरुले बताएका छन् । धेरै आकाङ्क्षी र पार्टी नेतृत्वमा समेत आफू अनुकूलको नेतृत्व ल्याउने मोहका कारण सम्मेलन अपूर्ण बन्न पुगेको सम्मेलनमै सहभागी एक विद्यार्थी नेताले बताए । उनका अनुसार पार्टी नेतृत्व ३२ वर्षभन्दा माथिबाट आफू अनुकूलको विद्यार्थी नेतालाई सहमतिको नाममा अध्यक्ष बनाउने चाहन्थ्यो । तर, कीर्तिपुरस्थित सम्मेलन हलमा ३२ वर्षभन्दा मुनिबाट नेतृत्व ल्याउनु पर्ने र निर्वाचनमै जानुपर्ने मत बलियो देखिएपनि समस्या पैदा भएको थियो ।
‘सहमतिमा नेतृत्व चयन हुने अवस्था रहेन । अहिलेको लेयरमा महासचिव भन्दा माथिकालाई एक्लै जित्छु भन्ने कन्फिडेन्स पनि थिएन’, उनले भने, ‘जसका कारण अलमल गरियो र अहिले सम्मेलन नै स्थगित गरियो ।’ नेतृत्व चयनबिनै सम्मेलन स्थगित गरिनुले बाहिर सन्देश राम्रो नगएको उनको भनाइ थियो ।
पहिला विधान अधिवेशन गर्ने र त्यसपछि राष्ट्रिय सम्मेलन गर्ने भन्ने प्रस्तावलाई पार्टीको नेतृत्वले बवास्ता गरेको कारण यो परिस्थिति आएको बताइन्छ । एक असन्तुष्ट विद्यार्थी नेताको भनाइ अनुसारअध्यक्ष प्रचण्डले उक्त प्रस्तावलाई उल्ट्याउँदै एकसाथ भन्ने निर्णय गराए । सोहीअनुसार राष्ट्रिय सम्मेलन उद्घाटन गरियो भने प्रचण्डले नेतृत्वमा निवर्तमान अध्यक्ष पञ्चा सिंहविरुद्ध समानान्तर गतिविधि गर्दै आएका पवन कार्कीदेखि अर्का विद्यार्थी नेता दिपेश पुनसम्मलाई अध्यक्ष बनाउने प्रयास गरे ।
आफ्नो पक्षको समूह समूह सशक्त देखिँदा त्यो पनि सम्भव देखिएन । त्यसपछि कहिले उमेरको कुरा त कहिले के देखाएर सम्मेलन नै स्थगित गर्नतर्फ नेतृत्व नै लागेको आरोप लागेको छ । नाम उल्लेख नगर्ने सर्तमा अखिल (क्रान्तिकारी) का एक नेताले आजको अर्थसित भने,‘ यो सब गराउने प्रचण्डका मान्छे हुन । प्रचण्डले बाहिर लोकप्रियताको लागि उमेर हद लगाउनुपर्छ भन्ने तर छोरी गंगा , रमेश मल्ल , जोखबहादुर महराका छोरा तुकमान र पूर्व उप राष्टपतिको छोरा दीपेश पुनलाई निर्देशन दिएर सम्मेलन भाँड्न लगाईयो । निर्वाचनमा आफ्नो उम्मेदवारले जित्ने अवस्था नदेखेपछि खुमलटारकै योजनामा खुकुरी नचाउने र तोडफोड गर्न लगाइएको हो ।’
‘सम्मेलनलाई बिथोल्न अध्यक्षकै भूमिका रह्यो । चुनाव भयो भने हारिन्छ भन्ने भएर यस्तो भयो कि, के भयो त्यो उनकै कुरा होला’, एक नेताले भने, ‘अहिले पुरानो पनि विघटन गरियो । नयाँ पनि बन्न सकेन । यस्तो अवस्थामा बुधवार साँझ सूचना टाँसेर स्थगित भनियो ।’
पार्टीको अवस्था खस्किदै गएको स्थितिमा ‘विद्यार्थीको घटनाबाट प्रचण्डले माओवादी बनाउन र संगठन जोगाउन सक्दैनन् भन्ने पुष्टि भयो’, एक पदाधिकारीले भने, ‘उनमा इच्छा पनि देखिएन ।’ आफूहरूले नेतृत्व चयन गर्नुपर्छ भनेपनि एकाएक स्थगितको सूचना आउनु ठिक नभएको उनको भनाइ छ ।
बन्द सत्रमा छलफलको लागि प्रस्तावित विधान र प्रतिवेदन उपर छलफल जारी रहेको र विधान पारित भई पारित विधान बमोजिम निर्वाचन सम्पन्न गर्न समयको पर्याप्तताबारे पार्टीको निर्वाचन आयोगसँग परामर्श हुँदा समेत निर्वाचनको सबै प्रक्रिया पुरा गर्न दसैँ अगाडिको समय पर्याप्त नभएको प्राप्त सुझावलाई मध्यनजर गरी निष्कर्षमा पुग्न अध्यक्ष मण्डलबिच व्यापक र गम्भीर छलफल हुँदा हाल जारी रहेको राष्ट्रिय सम्मेलन स्थगित गर्न उचित र श्रेयकर भएको निष्कर्षसहित हाललाई जारी सम्मेलन स्थगित गर्ने निर्णय गरेको बुधवार जारी सूचनामा उल्लेख छ ।
‘अर्को सूचना जारी नभएसम्मको लागि बाँकी प्रक्रिया पुरा गर्ने प्रयोजनको लागि चालु रहेको २३ औँ राष्ट्रिय सम्मेलन स्थगित गरिएको ब्यहोरा अध्यक्ष मण्डलको आज मिति २०८१ साल असोज १६ गते बसेको बैठकको निर्णय बमोजिम यस अनेरास्ववियु क्रान्तिकारीको सम्बन्धित सम्पूर्ण निकाय, पदाधिकारीहरू, सम्मेलनमा प्रतिनिधित्व गर्नुहुने सम्पूर्ण प्रतिनिधि लगायत सबैमा जानकारी गराउँदछौँ’, वीरबहादुर थापासहितको ७ सदस्यीय अध्यक्ष मण्डलले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया