विपदमा घाइते भएकालाई सरकारले निःशुल्क उपचार गरेको छ : स्वास्थ्यमन्त्री

विहीबार, १७ असोज २०८१, १५ : ४९

काठमाडौँ - स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपदमा घाइते भएकालाई सरकारले निःशुल्क उपचार गरिरहेको बताएका छन् ।

बिहीबार राष्ट्रिय ट्रमा सेन्टरमा मनसुनजन्य विपदमा घाइते भएका   बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुग्नुभएका उनले सो कुरा बताएका हुन् । उनले उपचार आवश्यक भएका सबै नागरिकलाई स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार उपलब्ध गराइरहेको बताए ।

मन्त्री पौडेलले सरकारी अस्पतालमा विपदमा घाइते भएका बिरामीको निःशुल्क उपचार जारी रहेको र विपदमा घाइते भइ उपचार नपाएका नागरिकले सरकारी अस्पतालमा पुगेर उपचार गराउन सक्ने बताए। 

उनले कतिपय नागरिकलाई सरकारले निःशुल्क उपचार गराएको बारेमा जानकारी नहुने भन्दै सञ्चारमाध्यमले सूचना संप्रेषणा गरिदिन आग्रह गरे ।उनले विपदमा भएका जस्तोसुकै जटिल समस्याको पनि उपचार सरकारले निःशुल्क गर्ने बताए। उनले घाइतेलाई उपचारबाट वञ्चित हुन नदिने प्रतिबद्धता जनाए । 

मन्त्री पौडेलले विपद् कुनै पनि बेला आउनसक्ने भन्दै जनचेतना अभिवृद्धि गर्न जरुरी रहेको बताए । प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्ने काम भइरहेको उनको भनाइ छ। उनले तीन तहकै सरकारसँग समन्वय गरेर विभिन्न कार्यक्रम अघि बढाइएको जानकारी दिए। 
 

विहीबार, १७ असोज २०८१, १५ : ४९

प्रतिक्रिया