काठमाडौ- असोज ११ र १२ गते भएको भारी वर्षाका कारण भत्किएका सडक र पुल मर्मत तथा पुनर्निर्माण गर्न २० देखि २५ अर्ब रूपैयाँसम्म खर्च हुने प्रारम्भिक अनुमान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको र हालसम्मको प्रारम्भिक अनुमानअनुसार भत्किएका सडक तथा पुल मर्मत र पुननिर्माणका लागि २५ अर्ब रुपैयाँसम्म खर्च लाग्ने जानकारी गराएको हो। मन्त्रालयले भत्किएका सडक र पुलमा अस्थायी रूपमा यातायात सञ्चालन गर्न मात्र साढे दुईदेखि तीन अर्ब रूपैयाँ लाग्ने देखिएको जनाएको छ।
देशभरि ३४ वटा राजमार्गको आठ सय पाँच स्थानमा पहिरो गएकोमा सात सय ७४ स्थानको अवरोध खुलाएर २९ वटा राजमार्गमा यातायात सेवा नियमित गरिसकिएको मन्त्रालयले जनाएको छ। अझै पाँचवटा राजमार्गको ३१ स्थानमा अवरोध कायमै रहेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बताए।
प्रतिक्रिया