काठमाडौँ - दसैँका लागि काठमाडौँबाट बाहिरिनेहरू बढेसँगै सडक र हवाई दुवै क्षेत्रमा यात्रुको चाप बढेको छ ।
दसैँको यात्रा सुरु हुनुअघि नै गत हप्ताको बाढी पहिरोले सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रुको सङ्ख्या बढेको थियो । गएको आइतबारदेखि हरेक विमानहरू भरिभराउ भएर काठमाडौँबाट उडिरहेका छन् ।दसैँको फूलपातीको दिनसम्म काठमाडौँबाट हरेक गन्तव्यका लागि टिकट बुक भइसकेका छन् । यात्रुको चाप बढेसँगै विमान कम्पनीहरूले केही ‘स्लट’ थप पनि गरेका छन् ।
अहिले काठमाडौँबाट भरतपुर, पोखरा, नेपालगन्ज, धनगढी, जनकपुर, पोखरा, भद्रपुर लगायतमा थप उडान भएका छन् । यात्रुको चाप उच्च भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हिजो, घटस्थापनादेखि दसैँभर रात्रिकालीन उडान हुने विमानस्थलमा बिहान ४ः३० देखि राति १२ बजेसम्म उडान हुने जनाएको छ । तर पनि काठमाडौँबाट उड्ने यात्रुले टिकट पाउन मुस्किल छ ।
जाँदा भरिभराउ भएका विमानहरू काठमाडौँ फर्किँदा भने रित्तै हुन्छन् । बुध्द एयरका अनुसार उपत्यका बाहिरबाट फर्किने सबै विमानहरू अहिले सरदर २५–३० प्रतिशत यात्रुमा उडिरहेको छ । काठमाडौँ आउने यात्रुको सङ्ख्या कम भएपछि उपत्यका बाहिरका सबै गन्तव्यबाट एयरलाइन्स कम्पनीहरू न्यूनतम दरमा उडाइरहेका छन् ।
जस्तो अहिले नेपालगन्ज जानको लागि टिकट पाइन छोडेको छ । पाइए पनि यात्रुले अधिकतम दरका टिकट मात्रै पाइन्छन् । जाने यात्रुले १३ हजार २६४ तिर्दा सोही विमानमार्फत फर्किने यात्रुले भने न्यूनतम दर ६ हजार ६०० मै उड्न पाइरहेका छन् ।
प्रतिक्रिया