बागमती सरकारले विपद् प्रभावित पालिकालाई ५ करोड ८० लाख रुपैयाँ दिने

शनिबार, १९ असोज २०८१, १२ : ४९

काठमाडौँ - बागमती प्रदेश सरकारले विपद् प्रभावित स्थानीय तहलाई राहत तथा उद्धार कार्यका लागि आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

 शनिबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् प्रभावित ४५ स्थानीय तहहरूलाई ५ करोड ८० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले गत असोज ११ र १२ गतेको वर्षाका कारण विपद्बाट प्रभावित भएका स्थानीय तहलाई ३ वर्गमा विभाजन गरी राहत तथा उद्धार कार्य गर्न रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

सरकारका अनुसार प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा रकम अभाव रहेकाले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट १० करोड रुपैयाँ रकम निकासा गरेर सो मध्येबाट ५ करोड ८० लाख रुपैयाँ स्थानीय तहलाई उपलब्ध गराउने निर्णय गरेको हो । 

बैठकले विपद्बाट बढी प्रभावित ७ स्थानीय तहलाई २० लाख रुपैयाँ, १२ वटा स्थानीय तहलाई १५ लाख रुपैयाँ र ४५ वटा स्थानीय तहलाई १० लाख रुपैयाँ सोझै पालिकाको विपद् व्यवस्थापन कोषमा पठाउने निर्णय भएको छ । 

शनिबार, १९ असोज २०८१, १२ : ४९

प्रतिक्रिया