काठमाडौँ - भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई तीन सय शय्या र उपकरणसहित अस्पताल निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
भारत भ्रमणमा रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र भारतीय जनता पार्टीका अध्यक्ष एवं स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जेपी नड्डाबीच नयाँ दिल्लीस्थित निर्वाण भवनमा भएको द्विपक्षीय वार्ताका क्रममा भारतले यस्तो प्रतिबद्धता जनाएको हो ।
त्यस क्रममा मन्त्री पौडेलले राखेको प्रस्तावअनुसार ट्रमा सेन्टरको स्तरोन्नति तथा डायलासिस सेवा थप्न र सर्पदंशका बिरामीको उपचार र ‘डिजिटल हेल्थ’ अभियान कार्यान्वयनका लागि सघाउन पनि भारतीय समकक्षी नड्डाले प्रतिबद्धता जनाएको स्वास्थ्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
आवश्यक तयारीपछि चाँडै यसबारे द्विपक्षीय समझदारी गर्ने सहमतिसमेत भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले जनाएको छ।
प्रतिक्रिया