प्रविधिको विकासले मानव जीवनलाई सहज र गतिशील बनाएको छ : अध्यक्ष दाहाल

मंगलबार, २९ असोज २०८१, ०७ : ४७

काठमाडौं -अन्तर–व्यवस्थापिका सङ्घको १४९औँ महासभालाई सोमबार स्वीट्जरल्याण्डको जेनेभामा सम्बोधन गर्दै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विज्ञान प्रविधि र नवप्रवर्तनको विकासले मानव जीवनलाई सहज र गतिशील तुल्याउन विभिन्न अवसर प्रदान गरिरहेको बताएका छन् ।

साथै उनले सबै नागरिकको प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुने गरी कानुन निर्माण र प्रभावकारी कार्यान्वयनमा जोड दिएको संसद सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालले यसले सन् २०१५ मा लागू गरिएको दीगो विकासका लक्ष्य हासिल गर्न रुपान्तरणकारी क्षमता समेत राख्ने धारणा व्यक्त गरे । सूचना प्रविधिको क्षमता विकास र पहुँचमा देशभित्र र देशहरुबीच ठूलो अन्तर रहेको बताउँदै उनले भने, ‘अझैपनि साढे दुई अर्बभन्दा बढी मानिसको सूचनामा पहुँच छैन । तसर्थ हामी एकजुटभई चूनौतिको सामना गर्न र विज्ञान प्रविधि र नवप्रवर्तनका उपलब्धिमा सवैको समान पहुँच सुनिश्चित गर्न आवश्यक छ ।’

उनले विज्ञान प्रविधिको विकास र प्रयोगलाई मानव समुदायकाहितमा सदुपयोग तथा यसबाट सिर्जना हुनसक्ने गोपनीयता भङ्ग, साइबर सुरक्षा, नकारात्मक सामग्रीको प्रचारजस्ता जोखिम र चूनौतिलाई सामना गर्न कानून निर्माण तथा सरकारका कामको अनुगमन गर्ने सवैधानिक जिम्मेवारीमा रहेका विश्वका व्यवस्थापिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्नपर्छ भने ।

अध्यक्ष दाहालले विज्ञान प्रविधि र नवप्रवर्तनका क्षेत्रमा अनुसन्धान, विकास, स्रोत परिचालन र युवाको सहभागीता बढाउनका लागि अन्तर्राष्ट्रिय सहयोग र सहकार्यको वातावरण सिर्जना गर्न तथा यसको आवश्यक नियमन गर्दै विश्वका सवै प्रविधिमा समान पहुँच स्थापित गर्न जरुरी रहेको धारणा ब्यक्त गरे ।

अध्यक्ष दाहालले भने, ‘जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, भ–ूराजनीतिक तनाव, गरिबी, असमानतालगायतका प्रमुख चूनौतिको सामनाका लागि विचारविमर्श र योगदान गर्न अन्तर्राष्ट्रिय व्यवस्थापिका सङ्घ एक महत्वपूर्ण मञ्चका रुपमा रही आएको छ ।’

मंगलबार, २९ असोज २०८१, ०७ : ४७

प्रतिक्रिया