काभ्रेमा डेंगु संक्रमितको संख्या ३०० नाघ्यो

विहीबार, ०१ कार्तिक २०८१, १२ : ५२

 काठमाडौँ- काभ्रेमा डेंगु संक्रमितको संख्या ३०० नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, काभ्रेले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनयता डेंगु संक्रमितको संख्या ३०२ पुगेको छ ।

संक्रमण पुष्टि हुनेको संख्या दैनिक बढिरहेको तथ्यांकले देखाएको छ । पछिल्लोको ५ दिनको रेकर्ड हेर्दा २५ जनामा डेंगु संक्रमण देखिएको छ ।

बनेपा, पनौती र धुलिखेल क्षेत्रमा बढी संक्रमित छन् । बनेपा नगरपालिकामा १०८ जना, पनौतीमा ५५ जना र धुलिखेलमा ४९ जनामा संक्रमण पुष्टि भएको छ ।

भुम्लु गाउँपालिकामा २४ जना, पाँचखाल र मण्डनदेउपुर नगरपालिकामा १९/१९ जना, नमोबुद्ध नगरपालिकामा १२ जना, रोशी गाउँपालिकामा ९ जना, बेथानचोकमा ३ जना, चौरीदेउराली गाउँपालिकामा २ जनाका साथै तेमाल र महाभारत गाउँपालिकामा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

 खानीखोलामा भने हालसम्म संक्रमित नभेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले जानकारी दिएको  छ ।  काभ्रेमा आर्थिक बर्ष २०७८/७९ मा ४८७ जना, २०७९/८० मा ६८२ जना, २०८०/८१ मा २५१ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो ।

पनौति नगरपालिकाका जनस्वास्थ्य प्रमुख जनक के. शी ले डेंगु संक्रमण र यसको रोकथाम गर्न लागि पनौति नगर र नगरभित्रका सबै वडाहरु लागि परेको कुरा बताए । उनका अनुसार डेंगु  संक्रमितको अवस्था  सामान्य रहेको छ । 

विहीबार, ०१ कार्तिक २०८१, १२ : ५२

प्रतिक्रिया