गौशाला धर्मशाला विवाद संयमित प्रक्रियाबाट समाधान गर्न आग्रह

शुक्रबार, ०२ कार्तिक २०८१, १५ : ४२

काठमाडौँ - लामो समयदेखि पशुपतिस्थित गौशाला धर्मशालाबाट धार्मिक एवं सामाजिक सेवा प्रदान गर्दै आएको व्यावसायी समुदायलाई त्यहाँबाट बलपूर्वक हटाउन खोजिएको घटनाले यस नेपाल समुद्रपार निकासी पैठारी संघलाई चिन्तित बनाएको छ ।

यसलाई संघले देशको व्यापार व्यवसाय, रोजगारी र राजस्वमा अतुलनीय योगदान गर्दै आएको समुदायलाई बिशुद्ध धार्मिक र सामाजिक सेवाबाट जबरजस्ती बिमुख गराउने प्रयासको रुपमा लिएको छ । यो संघ कुनै पनि विवाद र समस्याको समाधान जबरजस्ती र मुडभेडबाट नभई शान्तिपूर्ण संवादको माध्यमबाट हुनुपर्छ भन्नेमा दृढ छ । गौशाला धर्मशालाको सम्बन्धमा अहिले सिर्जना भएको विवाद पनि वार्ताबाटै समाधान हुनुपर्ने संघको मान्यता रहेको छ ।

लामो समयदेखि गौशाला धर्मशाला सञ्चालन गरिरहेको व्यवसायीलाई उचित समय नै नदिई बलपूर्वक त्यहाँबाट हटाउने प्रयासलाई संघले अस्वाभाविक मानेको छ । यसले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरिरहेको समुदायको मनोबल कमजोर बनाउन सक्ने जोखिमतर्फ पनि संघ सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराएको छ ।

अत्यन्तै संवेदनशील विषयमा उत्पन्न विवाद संयमित प्रक्रिया र वार्ताबाट समाधान गर्न यो संघ नेपाल सरकार, पशुपति क्षेत्र विकास कोष, काठमाडौं महानगरपालिका, मारवाडी सेवा समिति लगायत सम्बद्ध सबै पक्षलाई हार्दिक आग्रह गरेको छ ।
 

शुक्रबार, ०२ कार्तिक २०८१, १५ : ४२

प्रतिक्रिया