क्षतिग्रस्त खानेपानी आयोजना पुनःनिर्माण गर्न जर्मन सरकारसँग माग

शनिबार, १० कार्तिक २०८१, १४ : ०६

काठमाडौँ - बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानीको पुनःनिर्माणका लागि धुलिखेल नगरपालिकाले जर्मन सरकारसँग माग गरेको छ । 

नगरपालिकाले नेपालका लागि जर्मनी राजदूत डा. थोमस प्रिन्जसँग भेट गरी उक्त प्रस्ताव गरेको हो । करिब तीन दशकअघिदेखि सञ्चालित उक्त खानेपानी आयोजनाको पुनःनिर्माण गर्न तीन करोड ५१ लाख लाग्ने अनुमान गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार गत असोज दोस्रो साताको बाढीपहिरोले आयोजना क्षतिग्रस्त बनाउँदा नगरपालिका–३, ४, ५, ६ र ८ को उपभोक्ता एक महिनादेखि खानेपानीविहीन अवस्थामा रहेका छन् । 

उक्त आयोजनाको पाइपमा बढी क्षति भएको तथा धुलिखेलका अन्य दुई खानेपानीमा दुई करोड चार लाख क्षति भएको जनाइएको छ । बाढीपहिरोबाट नगरको १० वडाका अधिकांश निजी आवास, सडक, खेतीयोग्य जमिन, पशुपक्षी तथा केही वडामा मानवीय क्षति पुगेको थियो ।

उक्त घटनामा दुईजनाले ज्यान गुमाएका थिए एक अझै बेपत्ता अवस्थामा छन् । नगरपालिकाको प्रारम्भिक तथ्यांकअनुसार ६४ घर पूर्णरुपमा क्षति तथा पाँच सय ७२ घर आंशिक क्षति भएका छन् । 

शनिबार, १० कार्तिक २०८१, १४ : ०६

प्रतिक्रिया