रवि पक्राउपछि रास्वपामा दुई गुट सक्रिय, शक्ति हत्याउने दाउमा डिपी र स्वर्णिम

बुधबार, २१ कार्तिक २०८१, १० : ०६

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि पार्टीमा आन्तरिक किचलो बढेको छ। 

सभापति लामिछानेलाई कात्तिक २ गते प्रहरीले पक्राउ गरेर पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा अनुसन्धान गर्न कास्की पुर्‍याए यता रास्वपा आन्दोलनरत छ।  राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै रास्वपाले सडक आन्दोलन जारी राखेको छ। 

यसैबीच मंगलबार कास्की जिल्ला अदालतले लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक थप १० दिन म्याद थपेको छ। कास्की प्रहरीले जिल्ला अदालतमा लैजाँदै गर्दा आन्दोलनरत रास्वपाका कार्यकर्ताले आक्रोशित भएर पोखरामा निषेधित क्षेत्र तोड्ने पयास गर्दा प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो। 

सभापति लामिछाने पक्राउविरुद्ध सडकमा सरकार विरोधी नाराबाजी गर्दै आक्रोश व्यक्त गरिहेको रास्वपाको आन्तरिक जीवनमा समेत संकट उत्पन्न हुन थालेको छ। 

स्रोतका अनुसार रास्वपामा कार्यवाहक सभापतिको रुपमा उपसभापति डोलप्रसाद अर्याल(डिपी)ले आफूलाई प्रस्तुत गर्न लागेपछि अर्का उपसभापति डा. स्वर्णिम वाग्ले रुष्ट भएका छन्।

पछिल्लो समय आन्दोलन जारी रहेकै बेलामा उपसभापति अर्यालले हिरासतमा रहेका सभापति लामिछानेको मुद्दा कमजोर बनाउन गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेट गरेपछि उपसभापतिद्वयबीच तिक्तता निकै बढेको स्रोतले जनाएको छ।

गत सोमबार उपसभापति अर्याल र प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मासँग सामूहिक सल्लाह बेगर भेटेको भन्दै अर्का उपसभापति वाग्ले रुष्ट भएका हुन्। 

यस अघि कात्तिक १० गते बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले तोकेको कार्यविभाजन विपरित उपसभापति अर्यालले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई भेटेको वाग्लेको आरोप छ।

सोही केन्द्रीय समितिको बैठकले आन्दोलनको जिम्मा उपसभापति अर्याललाई दिँदै उनलाई आन्दोलन सञ्चालन मूल समितिको संयोजक बनाएको थियो भने अर्का उपसभापति वाग्लेले राजनीतिक नागरिक संवाद समितिको जिम्मा पाएका थिए। 

तर, केन्द्रीय समिति बैठकद्वारा गठित समितिको कार्यादेश विपरित उपसभापति अर्यालले आफूलाई लत्याएर अन्य दलका शीर्ष नेताहरुलाई भेट गरेपछि वाग्ले रुष्ट भएका हुन्। 

प्रहरी हिरासतमा रहेका सभापति लामिछाने पनि उपसभापति अर्यालप्रति लचिलो बनेको र अघोषितरुपमा कार्यवाहक सभापतिको जिम्मा समेत उनैलाई दिइएको भन्दै वाग्ले सशंकित बनेका छन्। पार्टी गठनको सुरुवातदेखि नै साथ दिएका अर्यालप्रति सभापति लामिछाने नरम देखिएका छन्। अर्का वाग्ले भने कांग्रेस छाडेर पार्टी निर्माण भएको धेरैपछि तनहुँ १ को उपनिर्वाचनमा उम्मेदवारी सुनिश्चित गरेर मात्रै रास्वपामा भित्रिएका हुन्।

पार्टीले सहभागिता जनाउने प्रमुख प्रतिपक्षी दलहरुको बैठकमा पनि अर्याल नै सहभागी हुने गरेको र गत साता प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा पनि कार्यवाहक सभापतिकै रुपमा आफैं सहभागी भएर हस्ताक्षर गरे पछि वाग्ले थप चिढिएको रास्वपा स्रोतको दाबी छ।   

अहिले रास्वपामा अर्याल र वाग्लेको छुट्टाछुट्टै धार खडा गरेर शक्ति हत्याउने प्रयत्न गरिरहेको रास्वपा निकट स्रोत बताउँछ। स्रोतका अनुसार उपसभापति अर्याल आन्दोलनलाई भन्दा शीर्ष नेतासहित प्रधानमन्त्रीको सदाशयता लिएर सभापति लामिछानेलाई छुटाउनुपर्ने पक्षमा रहेका छन् भने वाग्ले सडक आन्दोलन चर्काउनुपर्ने अडानमा छन्।

रास्वपामा रविको गिरफ्तारीपछि दुई गुटको सक्रियता सतहमा आएको र दुबै उपसभापति आआफ्नो पक्षमा शक्ति हत्याउने दाउमा लागेको बताइन्छ। 

तर, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार भने पार्टीमा कुनै विवाद नै नभएको दाबी गर्छन्। उनले बाहिर सार्वजनिक भएका विषयमा सत्यता नभएको जिकिर गरे।

प्रमुख सचेतक परियारले बुधबार आजको अर्थसँगको कुराकानीमा भने, ‘बाहिर आएको जस्तो गुटबन्दी बढेको होइन। केन्द्रीय समितिको बैठकले तय गरेको मार्गनिर्देशन अनरुप उपसभापतिद्वयले आफ्नो जिम्मेवारी वहन गरिरहनुभएको छ।’

उनले पार्टीमा भएका सामान्य तर्क वितर्कलाई बाहिर अतिरञ्जित गरिएको बताए। सभापति लामिछानेको गिरफ्तारीपछि जारी आन्दोलनलाई निरन्तरता दिँदै अन्य दलसँगको संवाद पनि कायम राखिने उनले बताए।


 

बुधबार, २१ कार्तिक २०८१, १० : ०६

प्रतिक्रिया