काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा सीमित व्यक्तिले मात्रै निरन्तरता पाउँदै आएका छन्। प्रचण्डको सचिवालयमा स्थायीरुपमा कार्यरत रहेका सचिवालय सदस्यहरु प्रचण्डमाथि हाबी भएर उनलाई नै गुमराहमा पार्दै कतिपय निर्णय गराउने तहसम्मको ल्याकत राख्ने गरेको बताइन्छ।
सरकारमा हुँदा होस् या प्रतिपक्षमा सदैब प्रचण्डको सचिवालयमा तिनैको मात्रै रजगज र सम्पूर्ण कारोबारमा नियन्त्रण हुने गर्दछ। यस अघि माओवादी शान्तिप्रक्रियामा आए यता निरन्तर प्रमुख स्वकिय सचिवको जिम्मेवारी जोखबहादुर महराले सम्हालेका थिए। उनी रोल्पाबाट प्रदेशसभामा निर्वाचन लड्ने सुनिश्चित गराएर दुई वर्ष अघि प्रचण्डको सचिवालय छाडेका थिए। उनी लुम्बिनी प्रदेशको सांसद निर्वाचित भएर छोटो समय मुख्यमन्त्री हुन समेत सफल भएका थिए।
प्रचण्डको सचिवालयमा रहेर लामै समय रजगज गरेका महराले त्यहाँ रहँदा राम्रै आर्थिक उपार्जन गरेको बताइन्छ। उनले काठमाडौंमा घर जोड्नेदेखि विभिन्न क्षेत्रमा लगानी गरेको माओवादी स्रोत बताउँछ।
महराको सचिवालयबाट बहिर्गमनपछि उनको स्थानमा पार्टी निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)को पूर्वअध्यक्ष रमेश मल्लको आगमन भयो। उनी अहिले प्रचण्डको सचिवालयको प्रमुख हर्ताकर्तामध्ये एक हुन्।
मल्लको पनि आर्थिक आम्दानीको स्रोत असुली धन्दा नै रहेको बताइन्छ। विभिन्न नियुक्ति, सरुवा बढुवामा रकम असुल्दै आर्थिक आम्दानी गदै आएका उनले विश्वविद्यालयका विभिन्न नियुक्तिमा समेत आर्थिक चलखेल गर्ने गरेको माओवादी स्रोत बताउँछ। उनको यस प्रवृत्तिबाट प्रचण्ड पनि आजित भएको माओवादीमा चर्चा छ।
त्यसोत प्रचण्ड सचिवालयमा माओवादी जनमुक्ति सेनाका पूर्व डिभिजन कमाण्डर सन्तु दराई ‘परवाना’पनि छन्। तर त्यहाँ उनको पकड भने न्यून रहेको र उनी प्रचण्डको सामान्य सहयोगीको रुपमा मात्रै त्यहाँ रहेको बताइन्छ । यद्यपि प्रचण्ड तेस्रो कार्यकाल प्रधानमन्त्री हुँदा परवानालाई प्रमुख स्वकिय सचिवको रुपमा राजनीतिक नियुक्ति गरिएको थियो।
माओवादी शान्तिप्रक्रियामा आए यता नै आफ्नो सहयोगीको रुपमा खटिएकाले परवानालाई प्रमुख स्वकिय सचिव बनाइए पनि बालुवाटारको हर्ताकर्ता भने सचिवालयमा रहेका अन्यकै हुने गर्दथ्यो।सरकारमा रहँदा होस् या बाहिर सचिवालमा सबैभन्दा शक्तिशाली भूमिका प्रचण्डपुत्री गंगाकै हुँदै आएको माओवादी स्रोतको दाबी छ। उनले नै सबैलाई परिचालन गर्दै प्रचण्डको घोषित/अघोषित कारोबार सञ्चालन गर्दै आइरहेकी छिन्।
प्रचण्डले आफ्नो सचिवालयमा सन्तानलाई भने सदैब निरन्तरता दिँदै आएका छन्। उनले यसअघि पुत्र प्रकाशलाई नै सचिवालयको सम्पूर्ण जिम्मा हेर्नेगरी राखेका थिए। उनको निधन पछि अहिले कान्छीपुत्री गंगाले प्रकाशको भूमिका निर्वाह गरेकी छिन्। तथापि प्रचण्डले बारम्बार प्रकाशको अभाव खट्किएको बताउँछन्।
नेपालका सबैजसो दलका शीर्ष नेताहरुले आफ्नो सचिवालयमा विश्वासपात्र नै राख्ने गरेका छन्। उनीहरुले गोपनियता कायम गर्न र अघोषित व्यावसायिक कारोबारको लेखाजोखा राख्न पारीवारिक सदस्यलाई स्थायीरुपमै सचिवालयमा राख्ने गरेको बताइन्छ।
प्रचण्ड पनि आफ्नो सचिवालयमा सीमित व्यक्तिहरुलाई शान्तिपूर्ण राजनीतिमा आगमनपछि स्थायीरुपले निरन्तरता दिँदै आएका छन्। अवसर प्रदान गर्ने सवालमा तिनै सीमित निकटस्थहरुको चंगुलमा परेका छन्। उनले राजकीय पदमा अवसर दिलाउन सीमित आसेपासे र पारीवारिक नातेदारको प्रभावमा परेर निर्णय गर्दै आएका छन्।
प्रचण्डका दुई छोरीमध्ये गंगा सचिवालय सम्हालेकी छिन् भने अर्की रेणु दुई कार्यकाल भरतपुर महानगरको मेयर भएकी छिन्। अनेकौं हत्कण्डा प्रयोग गरेर प्रचण्डले छोरी रेणुलाई दुई कार्यकाल मेयर बनाउन सफल भएका थिए।
पार्टीमा योगदान बिना प्रचण्डकै पारिवारिक नातेदार भएरै अवसर पाउनेहरुको फेहरिस्त निकै लामो छ।प्रचण्डको पारीवारिक सदस्य भएर अवसर पाउने अर्की पात्र हुन् बीना मगर।
तत्कालीन नेकपा कालमा केपी ओली नेतृत्वको सरकारमा बुहारी बीना मगरलाई खानेपानी मन्त्री नियुक्त गरेका थिए। सुदूरपश्चिममा उनका समकालीन नेताहरु जिल्ला तहमै काम गरिरहेका छन्। तर उनी प्रचण्डकै बुहारी भएकै कारण उक्त प्रदेशको सहइन्चार्ज हुन सफल भएकी छिन्।
कान्छी छोरी गंगाका श्रीमान जीवन आचार्य पनि प्रचण्डलाई प्रभावमा पारेर अवसर लिनेमा पर्दछन्। प्रचण्डका ज्वाँइ आचार्यले हरेक पटक अवसर प्राप्त गरिरहेका हुन्छन्। हाल कोशी प्रदेशसभाको सदस्य रहेका उनी त्यसअघि तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको सल्लाहकार रहेका थिए।
माओवादीको राजनीतिक पृष्ठभूमि नै नभएका उनलाई प्रचण्डको जोडबलमा गत निर्वाचनमा प्रदेशसभाको टिकट दिलाइएको थियो। कांग्रेसी परिवारका आचार्य गंगासँग बैबाहिक सम्बन्धमा जोडिएपछि मात्रै माओवादी बनेका हुन्।
प्रचण्डलाई प्रभावमा पार्ने पारीवारिक सदस्यको सूचीमा अर्का राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल पनि पर्छन्। उनी आफूलाई प्रचण्डको भाइ दावा गर्दै पटक- पटक अवसर लिनेहरुको सूचीमै पहिलो नम्बरमा रहेका छन्।
प्रचण्ड दोस्रो कार्यकाल प्रधानमन्त्री हुँदा यिनै हालका राष्ट्रिय सभा अध्यक्ष नारायण प्रमुख प्रशासनिक सल्लाहकार नियुक्त भएका थिए। प्रधानमन्त्रीको सचिवालयमा हुँदै नभएको र अनावश्यक नयाँ पद सिर्जना गरेर भाइ नारायणलाई तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले सेवा सुविधा उपलब्ध गराएको थियो।
त्यस अघि यिनै नारायणका छोरा समीर पनि प्रचण्डको सचिवालयमा रहेका थिए। प्रचण्डको सचिवालयमा रहेर आम्दानीका विभिन्न माध्यम पहिल्याएर आर्थिक हैसियत बढाएका उनी अहिले व्यावसायिक क्षेत्रमा आबद्ध छन्। प्रचण्डको सचिवालयमा केही वर्ष कार्यरत रहेर बाहिरिएका उनको काठमाडौंका विभिन्न व्यावसायिक क्षेत्रमा लगानी रहेको बताइन्छ।
छोरा समीरको व्यावसायिक लगानी र अकुत सम्पत्ति आर्जनमा राष्ट्रिय सभा अध्यक्ष दाहाललाई समेत जोडेर बारम्बार समाचार पनि सार्वजनिक हुँदै आइरहेको छ।
प्रचण्डको भाइ दावा गर्दै विभिन्न अवसर हत्याए पनि यी दुबै सहोदर दाजुभाइ भने होइनन्। प्रचण्डको परिवार कास्कीको ढिकुरपोखरीबाट चितवन झरेको हो। यता, नारायणका पूर्वज भने बर्मादेखि चितवनमा आएको उनलाई नजिकबाट चिन्नेहरुले बताउँछन्।
प्रचण्डको निकटस्थ रहेर मनग्ये अवसर पाउनेमा माओवादी निकट पत्रकार गोविन्द आचार्य पनि अग्रपंक्तिमा पर्दछन्। नेपाल पत्रकार महासंघको पूर्वअध्यक्ष समेत रहिसकेका आचार्यले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष लगायतका अवसर पाएका छन्। प्रचण्ड दोस्रो र तेस्रो कार्यकाल प्रधानमन्त्री हुँदा आचार्य प्रेस सल्लाहकारका रुपमा प्रचण्डको सचिवालयमा रहेका थिए।
यस विषयमा प्रचण्डको प्रेस हेर्ने गरी सचिवालयमा रहेका नरेन्द्र केसीलाई ‘प्रचण्डको सचिवालयमा किन सीमित व्यक्तिहरुको मात्रै बर्चस्व ?’ भनेर प्रश्न गर्दा उनले आफूलाई यसबारे कुनै जानकारी नभएको बताए। उनले आफू दुई महिनादेखि स्वयंसेवीको रुपमा कार्यरत रहेकाले थप जानकारी नभएको प्रतिक्रिया दिए।
प्रतिक्रिया