काठमाडौं - नेकपा (माओवादी केन्द्र) अहिले संसदमा तेस्रो दलको रुपमा रहेको छ । २०६४ यता निरन्तर ओरालो लागेको माओवादी पछिल्लो आम चुनावमा झनै खस्किएको हो । यद्यपी माओवादी अध्यक्ष प्रचण्ड एमाले र कांग्रेसलाई पालैपालो प्रयोग गरेर सत्ताको नेतृत्व गर्न सफल भएका थिए । पार्टीको आकार घट्दै गए पनि सत्ता राजनीतिमा प्रचण्डको हैसियत भने घटेको थिएन । त्यसै कारण पनि उनी पार्टीभित्र रहेका असन्तुष्ट नेताहरुलाई तेजोवध गर्न हौसिएका थिए । असारमा एमाले –कांग्रेसले नयाँ समीकरण बनाएपछि भने उनी सत्ताबाट गलहत्याइएका थिए । तर पनि प्रचण्ड २०८४ मा हुने निर्वाचनमा पहिलो पार्टी बन्ने भन्दै कार्यकर्ताको मनोबल बढाउन देश दौडाहामा लागेकै छन् । उनले जतिसुकै क्रियाशिलता देखाए पनि माओवादीप्रतिको आकर्षण भने घट्दो क्रममा देखिन्छ । कार्तिक २६ गते काठमाडौँ महानगरपालिका १६ नम्बर वडा कमिटी अध्यक्ष सुदन थापाले कमिटीसहित पार्टी छाडेको घोषणा गरे । उनीसहित ११ जनाले पार्टी परित्यागको घोषणा गर्दै आगामी उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई सघाउने समेत घोषणा गरे ।
सामाजिक सञ्जालमा लेख्दै उनीहरुले देशको वर्तमान राजनीतिक परिस्थिति तथा पुराना दलहरूप्रति जनतामा बढ्दो निराशाको गम्भीर समीक्षा तथा विश्लेषण गर्दै आफूहरु जिम्मेवारीबाट अलग भएको बताएका छन् । उक्त वडामा हुन लागेको उपनिर्वाचनमा उपयुक्त र सक्षम गैरदलीय स्वतन्त्र उम्मेदवारलाई सघाउने समेत लेखिएको छ ।
माओवादी पार्टी परित्याग गर्नेहरूमा महेन्द्रकुमार श्रेष्ठ, अनमोल राणा, सानु श्रेष्ठ, भरत श्रेष्ठ, ऋषिराम श्रेष्ठ, गजबहादुर बराल, उत्तरकुमार श्रेष्ठलगायत छन् ।
अध्यक्ष प्रचण्डले ८४ मा एक्लै चुनाव लडेर बहुमत ल्याउने भाषण गर्दै हिंडेको अवस्थामा पनि किन कार्यकर्ताले पार्टी छोडिरहेका होलान् भन्ने आजको अर्थको जिज्ञासमा एक पदाधिकारीले भने, ‘ नेतृत्वको गलत कार्यशैलीको कारण कार्यकर्तामा निराशा पैदा भएको छ । सक्षम र प्रभावशाली नेताहरुलाई भूमिकाबिहीन बनाउँदा यो अवस्था आएको हो । यही तरिकाले जाने हो भने आगामी निर्वाचनमा पार्टीको आकार अहिले भन्दा पनि ज्यादै सानो हुनेछ । ’
प्रतिक्रिया