नुवाकोटमा ६ हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण

शुक्रबार, ३० कार्तिक २०८१, १५ : ०७

काठमाडौँ - नुवाकोटको विदुर नगरपालिका–५ माझिटारमा छ हजार मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण भएको छ ।

निर्माण थालिएको आठ वर्षमा शीतभण्डार तयार भएसगैँ तरकारी र फलफूल राख्न सुरु भएको हो । वि.सं. २०७३ मङ्सिरमा काम सुरु गर्दा दश हजार मेट्रिक टन क्षमतामा निर्माणको योजना थालिएको सङ्घीयता कार्यान्वयनमा आएपछि बागमती प्रदेश सरकारको अनुदान सहयोगमा शीतभण्डार क्षमता घटाएर छ हजार मेट्रिकटन बनाइएको हिमालय शीतभण्डार प्रा।लि।ले जनाएको छ । 

तेह्र रोपनी क्षेत्रफलमा रु.२५ करोड लागतमा शीतभण्डार निर्माण भएको प्रालिले जनाएको छ ।  प्रालिको रु पाँच करोड लागत रहने र बाँकी बागमती प्रदेश सरकारको अनुदान हुने गरी वि.सं. २०७६ माघमा शीतभण्डार बनाउन ठेक्का लगाइएको थियो ।

अठार महिनामा काम सम्पन्न गर्ने गरी रु १९ करोड ९४ लाखमा रसुवा कन्स्ट्रक्सनले जिम्मा लिएकामा निर्माण कम्पनीले लामो समयसम्म काम नगरेपछि प्रा.लि. आफैँले निर्माण गरेको हो । तोकिएको समयमा काम सम्पन्न नहुँदा प्रदेश सरकारले लगाएको ठेक्का रकममा प्रालिले रु पाँच करोड लगानी थप गरेर शीतभण्डार तयार गरेको जनाइएको छ ।

निर्माण गरिएको शीतभण्डार अमेरिकन प्रविधिमा आधारित छ भने किसानले राख्ने सामग्रीमा बिमाको व्यवस्था गरिएकाले भण्डार गरिएका वस्तु सतप्रतिशत सुरक्षित रहने प्रालिले जनाएको छ ।
 

शुक्रबार, ३० कार्तिक २०८१, १५ : ०७

प्रतिक्रिया