प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष द्विवेदीबीच भेट

शुक्रबार, ०७ मंसिर २०८१, १७ : ४०

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज शिष्टाचार भेट गरेका छन् । 

 प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका सेनापतिबिच मानार्थ महारथीको आदानप्रदानको मौलिक परम्पराको निरन्तरता भएकामा खुसी व्यक्त गरे । 

उनले दुई मुलुकबिचको सहकार्य र सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए । सेनाध्यक्ष द्विवेदीले नेपाली सेनाको मानार्थ सेनापति हुन पाउँदा गर्वको महसुस गर्दै आफूलाई भाग्यमानी ठानेको बताउँदै दुई देशको सम्बन्धलाई थप विस्तारमा आफूले सक्दो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । 

भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, नेपाली सेनाका उपरथी मधुकर कार्कीलगायत सहभागी रहेका थिए । 
 

शुक्रबार, ०७ मंसिर २०८१, १७ : ४०

प्रतिक्रिया