हुम्लामा राष्ट्रिय खोप कार्यक्रम

शनिबार, ०८ मंसिर २०८१, १० : ४५

हुम्ला- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाकाे निर्देशन अनुसार हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन भएको छ । यही मङ्सिर ६ गतेदेखि सुरु भएको कार्यक्रम मङ्सिर १६ गतेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रममा जिल्लाका १२ वर्ष उमेर माथिका, खोप लगाउन छुटेकालाई जनस्वास्थ्य कार्यालय र गाउँपालिकाका स्वास्थ्यकर्मी वडावडामा गएर खोप लगाउने जिल्लास्थित जनस्वास्थ्य सेवा कार्यालयका अहेव राजु रावतले जानकारी दिए । तीन जना स्वास्थ्यकर्मीसहित प्रत्येक वडामा स्वयम्सेविका परिचालन गरिएको उनले बताए ।

यसैगरी, जिल्लामा बाहिरबाट आएका कर्मचारी तथा विद्यार्थीहरु हवाई टिकट नपाएपछि सिमकोट उड्डयन कार्यालयमा अलपत्र परेका छन् । सीता एयरलाइन्सले दैनिक जसाे तीन उडान गरे पनि चाडपर्वमा गृह जिल्ला आएकाहरु गन्तव्यतर्फ फर्कन थालेपछि हवाई टिकट अभाव भएको हो । नाम्खा गाउँपालिका–६ यारी घर भई उपचारका लागि काठमाडौँ जान लागेका रिङ्जिन लामाले सात दिनसम्म कुर्दा पनि टिकट नपाएको गुनासो गरे ।

रासस

शनिबार, ०८ मंसिर २०८१, १० : ४५

प्रतिक्रिया