काठमाडौं - पञ्चायतको अन्त्यतिर सरकारकै व्यवस्थापनमा र्यालीहरु आयोजना गरिन्थे । तिनीहरुलाई पञ्चर्याली भन्ने गरिन्थ्यो । त्यस्ता र्यालीहरुमा सरकारका मन्त्री र प्रधानमन्त्री नै मुख्य वक्ता हुने गर्दथे । उनीहरुको काम व्यवस्था विरोधी कांग्रेस– कम्युनिष्टहरुलाई गाली गर्नु र पञ्चायतले अलौकिक काम गरेको छ भनेर भाषण गर्नु हुन्थ्यो । सरकारी मुखपत्र गोरखापत्र र रेडियो नेपालले ठूलो महत्वकासाथ ती समाचारहरु सम्प्रेषण गर्ने गर्दथे । जति जति पञ्चहरु र्याली गर्दै हिंड्थे उति नै पञ्चायत विरोधी मनोविज्ञान तयार हुँदैछ भन्ने बुझिन्थ्यो । २०४६ को जन आन्दोल नसम्म आइपुग्दा त पञ्चहरुले ज्यादै विशाल र्यालीहरु आयोजना गरिरहेको थिए । कहिलेकाही त राजालाई समेत ती र्यालीहरुमा सहभागी गराउँथे । राजा वीरेन्द्रले पोखराको अन्तिम पञ्च र्यालीलाई सम्बोधन गरेका थिए । त्यसपछि आन्दोलन झन चर्केर गयो ।
अहिले नेकपा एमाले सरकारमा छ । सरकारले जन अपेक्षा अनुसार काम गर्न नसकेको भनेर अहिले चर्को आलोचना पनि भैरहेको छ । यति, ओम्नि, गिरिबन्धु, ललिता निवास लगायतका काण्डहरुमा सरकारको नेतृत्व गरेको पार्टी एमालेमाथि गम्भीर आरोप लागेको छ । अघिल्लो सरकारले भुटानी शरणार्थी लगायतका काण्डमा धमाधम कारबाही अगाडि बढाएपछि आत्तिएर यो गठबन्धन बनेको भन्ने जनमानसमा लागिरहेकै थियो । त्यस्तै वर्षौदेखिको लोडसेडिङ्गबाट देशलाई मुक्त गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका विद्युत प्राधिकरणका कार्यकारी अध्यक्ष कुलमान घिसिङ्गलाई हटाउन खोजेर सरकारले आफ्नो जनबिरोधी र मुलुक विरोधी चरित्रलाई झनै उदाङ्गो बनाइरहेको छ । अर्बौ रुपैयाँ विद्युतको बक्यौता नतिर्ने व्यापारीहरुलाई खुशी बनाउन महशुल नतिरे पनि लाइन जोड्ने निर्णय गरेर देशलाई अर्को घात गरेको छ सरकारले ।
यी सबै कारणहरुले अलोकप्रियताको शिखर चढेको ओली सरकारप्रति जनताको कुनै आशा र भरोसा देखिदैन । अझ यही बीचमा प्रधानमन्त्रीमाथि कम्बोडियामा ३२ अर्बभन्दा बढी लगानी गरेको समाचार सार्वजनिक भएको छ । यद्यपी उक्त समाचारको सत्य तथ्य विवरण आउन बाँकी नै छ । तर आरोप सामान्य खालको छैन । सरकारले यो आरोपको सत्यता नजाँचि सुखै पाउने छैन ।
आफूमाथि लागेका विभिन्न आरोपहरुको स्पष्टिकरण दिन एमालेले मंसिर ७ गते काठमाडौको दरवारमार्गमा शकक्ति प्रदर्शन गरेको छ । सत्ताको नेतृत्व गरेको दलले ने सडक पनि कब्जा गर्ने र र्याली गर्ने तरिकालाई पञ्चर्यालीसँग तुलना गर्न सकिन्छ । उसको प्रदर्शनको कारण नै उपत्यकाको व्यापार – व्यवसाय चौपट्ट भएको छ व्यवसायीहरुले गुनासो गरेका छन्। नारायणहिटी अगाडि मन्च बनाएर एमाले कार्यकर्ताले सडक कब्जा गरेपछि दरबार मार्ग,घन्टाघर, जमललगायतका व्यापारिक क्षेत्रको व्यापार व्यवसाय ठप्प बन्यो ।
एमालेले उक्त सभालाई जागरण सभा भन्ने नाम दिए पनि चरित्र हेर्दा पञ्चर्याली जस्तै देखिन्थ्यो । सडक कब्जा गरेर मन्च बनाएपछि बिहानैदेखि दरबार मार्गका व्यापारीको असजिलो महशुस भयो । आर्थिक हैसियत भएका स्वदेशी तथा विदेशीहरुको ‘सपिङ्ग केन्द्र ’ मानिने दरबार मार्ग क्षेत्र दिनभर अस्तव्यस्त देखियो । सरकारले जनतालाई डेलिभरी दिने र जनताले चित्त नबुझे सरकारका विरुद्ध प्रदर्शन गर्ने, खबरदारी गर्ने कुरा सामान्य बन्न जान्थ्यो । यो सबैतिर चलेको लोकतान्त्रिक प्रक्रिया पनि हो । तर यहाँ त उल्टो देखियो । सरकार नै सडकमा तमासा देखाउन आयो ।
यसले मुलुक भिडन्तको अवस्थामा जान खोजेको पनि संकेत गर्दछ । मुलुकमा शान्ति सुरक्षा र सेवा प्रवाहको अवस्थालाई व्यवस्थित गर्ने सरकार नै सडक प्रदर्शनमा जानु भनेको सडकमा अराजकता सिर्जना गर्नु हो । यसले मुलुकको अर्थतन्त्रलाई दुरगामी असर पार्न सक्छ । जहाँ राजनीतिक स्थिरता र अनुशासन छैन त्यस्तो मुलुकमा बाह्य लगानी आउने वातावरण पनि बन्दैन । एक दिन भए पनि सत्तारुढ दलको आन्दोलनका कारण व्यापार प्रभावित हुँदा सयौँ व्यापारी मर्कामा परे । करोडौँको व्यापार प्रभावित भएको उनीहरुले गुनासो गरेका छन् ।
आन्दोलनलाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको सधैंको भाषण सुनिरहेका मानिसमा खासै उत्साहसमेत देखिंदैनथ्यो । सार्वजनिक सञ्चार माध्यममा आइरहेका ओलीका बोलि दोहोर्याउनका लागि यत्रो सभा नै गर्नु जरुरी थिएन भन्ने मानिसहरु पनि भेटिए । ओलीले अधिकांश समय आफ्नो र सरकारकाे बचाउमा खर्च गरे । कम्बोडियोको लगानीबारे उनले खासै चित्त बुझ्दो स्पष्टिकरण दिएनन् । अन्य दलहरुसँग जोरी खोज्ने शैलीमा प्रस्तुत भएका ओलीले ८४ सम्मै यो गठबन्धन रहन्छ भनेर कार्यकर्तालाई विश्वस्त बनाउन खोजेका थिए । महासचिव शंकर पोख्रेलले लोडसेडिङ्ग केपी ओलीको सरकारले हटाएको भनेर भाषण गरेको सुनेका एमाले कार्यकर्ता नै अचम्भित देखिन्थे ।
प्रदर्शनमा एक लाख मान्छे उतार्ने एमालेको दाबी पनि मिलेको देखिएन । प्रहरी स्रोतले दिएको जानकारीअनुसार काठमाडौँ बाहिरका जिल्लाबाट पचासौँ बसमा आठदेखि १० हजार मानिस आमसभामा आएका थिए । एमालेकै एक नेताले पनि सोचेजस्तो उपस्थिति नभएको घुमाउरो रुपमा स्वीकार गरेका छन् । कार्यक्रममा झण्डै २० हजार मानिसको सहभागिता रहेको यकिन गरिएको छ । सूर्य चिन्हअंकित झण्डा बोकेर सडकमा उभिएका एकजना सामान्य कार्यकर्ताले पनि आजको उपस्थिति २० हजार जति भएको बताएका थिए ।
प्रतिक्रिया