काठमाडौँ - बागमती प्रदेश लोकसेवा आयोगको सदस्यमा बिहीबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले रामबहादुर खड्कालाई नियुक्त गरेका छन् ।
प्रदेश प्रमुख देवकोटाले प्रदेश लोकसेवा आयोग ऐन २०७५ को दफा ४ को उपदफा २ बमोजिम खड्कालाई सदस्य पदमा नियुक्त गरिएको हो । ऐनको दफा ३ को उपदफा १ बमोजिम गठित सिफारिस समितिको सिफारिसमा खड्कालाई सदस्य पदमा नियुक्त गरिएको हो ।
तत्कालीन सदस्य सुदर्शन ढकालले ११ कात्तिकदेखि लागू हुने गरी २ कात्तिकमा राजीनामा दिएपछि सो पद रिक्त रहेको थियो । उनलाई नेकपा एमालेको कोटामा आयोगको सदस्यमा नियुक्त गरिएको हो ।
दोलखाको गौरिशंकर गाउँपालिका- ५ का खड्कालाई प्रदेश लोकसेवा आयोगको सदस्यमा नियुक्तिको लागि २ मङ्सिर २०८१ को मन्त्रिपरिषद्को बैठकको प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार खड्कालाई सदस्य पदमा नियुक्तिका लागि ५ मङ्सिरमा प्रदेश प्रमुख देवकोटा समक्ष प्रस्ताव प्राप्त भएको थियो । उनको शपथ ग्रहण अर्को साता हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
प्रतिक्रिया