धेरैजसो सूचनाहरु राससले सम्प्रेषण गर्दै आएको छ : मुख्यमन्त्री लामा

विहीबार, १३ मंसिर २०८१, २२ : १५

काठमाडाैं- बागमती प्रदेश सरकार र राष्ट्रिय समाचार समिति (रासस) बीच बागमती प्रदेशका समाचार सम्बन्धमा सहकार्य गर्ने विषयमा आज छलफल भएको छ । हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) र राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाबीच भएको भेटवार्तामा प्रदेशका गतिविधिसम्बन्धी समाचारका सन्दर्भमा प्रदेश सरकार र राससबीच सहकार्य गर्ने विषयमा छलफल भएको हो ।

छलफलका क्रममा मुख्यमन्त्री लामाले प्रदेश सरकार रासससँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए । मुख्यमन्त्री लामाले रासस राज्यद्वारा सञ्चालित समाचार संस्था भएकाले प्रदेश सरकारका गतिविधिसम्बन्धी समाचार र सूचनाहरु राससमार्फत जनतासमक्ष लैजानका लागि प्रदेश सरकार रासससँग सहकार्य गरी अघि बढ्न तयार रहेको उल्लेख गरेका छन् । प्रदेश सरकारका धेरैजसो सूचनाहरु राससले सम्प्रेषण गर्दै आएको प्रसंग उल्लेख गर्दै मुख्यमन्त्री लामाले प्रदेश सरकार पनि रासससँग थप व्यवस्थित रुपमा सहकार्य गर्न चाहेको बताएका थिए । राससको बागमती प्रदेश कार्यालय भवनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री लामाले तामाङ भाषामा समाचार बुलेटिन प्रकाशनका लागि राससलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

सो अवसरमा राससका कार्यकारी अध्यक्ष झाले रासस राज्य सञ्चालित संस्था भएकाले राज्यका प्रत्येक तहका गतिविधिका समाचार सम्प्रेषण गरेर आमजनतालाई सुसूचित गर्न सक्षम रहेको बताए । उनले प्रदेश सरकारसँग सहकार्य गरेर प्रदेशका गतिविधि राससमार्फत सम्प्रेषण हुनु रासस र प्रदेश सरकारका लागि पनि उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्दै अध्यक्ष झाले रासस पनि प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको बताए । छलफलका क्रममा झाले राससले संघीयताको भावनाबमोजिम संघीय सरकार र स्थानीय सरकारसँग सहकार्यमा अवधि, नेपाल र मैथिली भाषाको समाचार बुलेटिन प्रकाशन गर्दै आएको जानकारी गराउँदै बागमती प्रदेश सरकारसँग सहकार्य गरेर तामाङ भाषामा समाचार बुलेटिन प्रकाशन गर्न प्रतिबद्ध रहेको बताए ।

छलफलका क्रममा रासस बागमती प्रदेश कार्यालय हेटौँडाका प्रमुख राजु विश्वकर्मा र स्थानीय समाचारदाता मणिराज गौतमको पनि सहभागिता थियो । राससका कार्यकारी अध्यक्ष झाले आजै हेटौँडास्थित राससको बागमती प्रदेश कार्यालयको निरीक्षण गरेका छन् । कार्यालय निरीक्षणपश्चात् अध्यक्ष झाले ग्रामीण र खोजमूलक समाचार संकलन गर्न बढी ध्यान दिन निर्देशनसमेत दिए ।

 

विहीबार, १३ मंसिर २०८१, २२ : १५

प्रतिक्रिया