काठमाडाैं- बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले विकासको ढाँचा परिवर्तन गरी एकीकृत विकासको आयोजना सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको आयोजनामा आज हेटौंडामा आयोजित दुई दिने खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै मुख्मयन्त्री लामाले गुरुयोजना बिना काम गर्दा सरकारको लगानी खेर गइरहेको धारणा राखे ।
अव्यवस्थित रुपमा भएका विकासका कामले विपद्लाई बढवा दिएको भन्दै उनले अब एकीकृत विकासको मोडलमा लगानी गरेर उपलब्धिमुलक ढंगबाट काम गर्नुपर्नेमा मातहतका निकायहरुलाई अनुरोध गरे ।
मुख्यमन्त्री लामाले आर्थिक सामाजिक, शिक्षा तथा स्वास्थ्य र उत्पादन केन्द्रित आयोजनाहरु तयार गरेर विकासका काम अघि बढाउनुपर्नेमा समेत ध्यान केन्द्रित गरे । प्रदेश सरकारले नागरिकहरुको सेवा प्रवाहसँगै आधारभुत आवश्यकताको क्षेत्रमा प्राथमिकताका साथ काम गरेको उल्लेख गर्दै सरकारले खानेपानी आपूर्तिलाई गुणस्तरिय र सहज उपलब्धताका लागि ‘एक घर एक घारा’ कार्यक्रम कार्यान्वयनमा ल्याएको मुख्यमन्त्री लामाले बताए ।
कार्यक्रममा खानेपानी ऊर्जा तथा सिँचाई मन्त्री श्याम खड्काले नागरिकको सुविधा र सहज पहुँचका लागि विगतमा सञ्चालन भएका अधुरा अयोजना पूरा गर्नेगरी काम भइरहेको बताए ।
प्रतिक्रिया